काठमाडौं, पुस ७ । सरकारले नेपाल–भारत सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट समाधान खोज्नु पर्नेमा सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।
नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न कूटनीतिक पहल भइरहेको सन्दर्भमा भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमिमाथि अतिक्रमण गरेको बताएका छन् । उच्च राजनीतिकस्तरको वार्ताटोली बनाएर भारतसँग छलफल गर्न सरकारलाई आग्रह गर्दै सांसद पाण्डेले देशको भूभाग कसैले हडप्न खोज्दैमा उसैको नहुने स्पष्ट पारेका थिए ।
उनले सीमा विवाद समाधानका सन्दर्भमा भइरहेको प्रयासबारे संसद्लाई जानकारी गराउन माग गर्दै उक्त विवादका विषयमा के कती काम भएको छ भनी जान्न चाहेको बताएका थिए । सरकारले ठोस कदम चाली उक्त विवादलाई जति सक्दो चाँडो अन्त्य गर्नुपर्ने उनको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खिमलाल भट्टराईले नेपाल–भारत सीमा विवाद समाधान गर्न सरकारले लिएको पहलकदमी स्वागतयोग्य रहेको स्पष्ट पार्दै नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् । उनले नेपाल भारत सीमा विवादको विरुद्धमा सम्पूर्ण नेपाल एक भएको बताउँदै त्यसमा अन्य राजनीतिक दलले उच्चस्तरको व्यवहार देखाएको भन्दै जुुन सकारात्मक समेत रहेको स्पष्ट पारेका थिए ।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्र नेपाली भूमि भएको स्ष्टसँग अडान राखेको र कूटनीतिक तथा राजनीतिक पहलकदमी लिएकामा सरकारलाई आफुले धन्यवाद दिन चाहेको बताउँदै उनले सरकारलाई धन्यवाद दिएका थिए । सरकारले गोकर्ण र दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गासम्बन्धी विवादबारे स्पष्ट पार्नुपर्नेमा उनले जोड दिएका छन् । दक्षिण एशियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरेर नेपालले दिएको नयाँ सन्देशले अन्तर्राष्ट्रियस्तरमा नेपालको साख नयाँ उचाइमा पुगेको र राष्ट्रको शिर उँचो भएको उनले सुनाए ।
सोही क्रममा सांसद कोमल वलीले भौतिक पूर्वाधारलगायत राष्ट्रिय गौरवका आयोजना प्रभावकारीरूपमा अगाडि बढाइरहेको भन्दै सरकारको प्रशंसा गरेकी थिइन् । उनले हालै सम्पन्न दक्षिण एशियाली खेलकुद (साग)मा विजयी नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेर खेलाडीको आत्मबल बढाएकोमा सरकारलाई धन्यवाद समेत दिएकी छिन् ।
सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको जग्गा भाडामा दिँदा अनियमिता भएको विषय सार्वजनिक भइरहेकाले सरकारका तर्फबाट स्पष्ट जवाफको माग गरेका छन् । सरकारले जुसुकै विववादलाई पनि सामान्य रुपमा लिनु नहुने बताउँदै उनले नेपाल–भारत सीमा विवादको विषयमा सरकारले लिइरहेको पहलकदमीका बारेमा पनि जानकारी दिन माग गरेका छन् ।
सांसद चक्रप्रसाद स्नेहीले खुला सिमानाका कारण भारतले बखेडा झिकेर सीमावर्ती क्षेत्रका नेपालीलाई दुःख दिँदै आएको प्रति आक्रोश पोखेका छन् । सुगौली सन्धिमा नेपाल–भारत सीमा काली नदी हो भन्ने स्पष्टसँग उल्लेख गरिएको भए पनि भारतले नेपाली भूमि मिचेको बताउँदै उनले भने, प्रमाणसहित नेपाल सरकारले भारतसँग कूटनीतिकस्तरमा पहल थाल्नुपर्छ, यसमा सरकारलाई सफलता प्राप्त होस्
सांसद बिमला राई पौडेलले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेकी छिन् । उनले सडक सुरक्षाको जिम्मा सङ्घीय सरकारको मात्र नभई प्रदेश सरकार र स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छिन् ।