तेह्रौँ सागका विजेता खेलाडीका लागि तत्काल पुरस्कार घोषणा गर्न माग

काठमाडौं, पुस ९ । सरकारसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न माग गरेको छ । सरकारले सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म पुरस्कार घोषणा नगरेकाले जनाउँदै संघले तत्काल पुरस्कार घोषणाका लागि माग गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । उक्त घोषणा पनि भनाईमा मात्र सिमित हुने हो की भन्ने चिन्ता संघलाई परेको जनाइएको छ । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जितेकालाई रु तीन लाख दिने घोषणा गरेका थिए ।

सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई रु पाँच लाख दिने घोषणा गरे पनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा नगर्दा खेलाडीहरु खिन्न भएका छन् । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सरकारले सोबारे आधिकारीक निर्णय सार्वजनिक गर्न सकिरहेको छैन । संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गरीएको छ ।

नेपाली खेलकूदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराउँदै उनले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गरेका छन् । घोषणा गरि सकेको पुरस्कार वितरणमा ढिलाई गर्दा खेलाडीलाई समस्या हुने उनको भनाई छ । नेपालले १३ औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कूल २०६ पदक जितेको थियो ।