दुईतिहाई बहुमतको सरकार र गोकर्ण फरेष्टी

काठमाडौं, पुस १० । कम्जोर वर्ग बलियो भयो भने जनताको शासन लागु हुन्छ र सुशासनको अनुभव आम नागरिकले गर्न पाउने छन् भन्ने मान्यताको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दुई तिहाईको सरकारले गरेका नीतिगत र व्यवस्थापकीय भ्रष्टाचारका घटनाहरु एकपछि अर्को गर्दै प्रकाशमा आएपछि पटाक्षेप भएको छ ।

नेकपाको दुई तिहाईको सरकारले आफ्नो पक्ष वा वर्गलाई मात्र लाभ हुने गरी गरेका मुलुक र जनता बिरोधी नीतिगत र व्यवस्थापकीय निर्णय र ती निर्णयहरुको कार्यान्वयनबाट भएका भ्रष्टाचारका घटनाहरुले यतिबेला राजनीतिक समाचारहरुलाई नै ओझेलमा पारिदिएपछि परम्परागत मान्यता वा आम अवधारणा नै पटाक्षेप भएको हो ।

चाहे गोकर्ण फरेष्टको कुरा होस् वा निजगढ विमानस्थल निर्माण, चाहे ललिता निवास जग्गा ठगी प्रकरण होस् वा लुम्बिनीको होक्के होटेल निर्माण होस् ! वर्गीय गुटको हितका लागि नेकपाको दुई तिहास सरकारले गरेका विकास कार्यहरु एकपछि अर्को विदादित बन्दै जानु र ती कार्यहरुमा व्यापक भ्रष्टाचार हुनु खेदजनक कुरा हो । दुई तिहाईको सरकारबाट जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा तुषारापात भएको छ ।

दुई तिहाईको सरकारले गरेका कार्यहरु एकपछि अर्को विवादित हुँदै जानु र व्यापक भ्रष्टाचार हुनुले राजनीतिक शक्तिका आडमा आर्थिक, सामाजिक र शासकीय नेतृत्वमा अराजकता र उन्माद बढाइ दिएको छ । केवल शक्तिका आडमा बलियाले जे गर्दा पनि हुने भए नेकपाको दुई तिहाई सरकारसम्म आइपुग्नै पर्ने थिएन र त्रेतायुगमा रावणको अन्त्य पनि मर्यादा पुरुषोत्तम रामले गर्नै सक्ने थिएनन् ।

नेकपाको दुई तिहाईको सरकार र उसका पक्षधरहरुले –स्थायी वा दीर्घकालसम्म शासन गर्नु छ भने रावण प्रबृत्तिको हरकतलाई दोहो¥याउने होइन, त्याग्नु पर्छ र सामाजिक सदाचारलाई शीरोपर गरेर देश र जनताको हीतका लागि आफ्नो शक्तिको सदुपयोग गर्नुको विकल्प छैन । अर्थात् बलियो हुँदैमा मुलुक र जनताको हीत बिरोधी कार्यहरु गर्न कसैले पनि छुट पाईंदैन भन्ने पछिल्ला दृष्टान्तहरु हुन् नेकपाको दुईतिहाई सरकारको आडमा भइरहेका भ्रष्टाचारजन्य घटनाहरु !

यस्ता घटनाहरुबाट सरकार बेलैमा सचेत भएन भने यी भन्दा जघन्य प्रकारका दुर्घटनाहरु पनि थपिंदै जाने छन् ।
निजी स्वार्थले वसिभूत भएको वर्तमान नेकपाको सरकार र उसका पक्षधरहरु यतिखेर मुलुकको साधन र स्रोतको दोहन गर्न जिऊ छाडेर लागेको पाइन्छ । नेकपाको लेवल झुण्डाएपछि सच्चा देश र जनता भक्त हुने विरुपाक्ष व्यक्तिहरु नै मुलुकको स्रोतलाई दोहन गरेर आफ्ना स्वार्थी साथीहरुको पक्षपोषणमा लागेका छन् ।

जुन स्थानमा हात हाल्यो, त्यही स्थानमा भ्रष्टाचार मौलाएको पाउनु वर्तमान नेकपा सरकारको असली पहिचान हुन पुगेको छ । सत्तासिन र उनीहरुको नजिकका विश्वासपात्रहरुको गतिविधि र परिणामका आधारमा भन्ने हो भने शक्तिको आडमा बसेर मुलुकको स्रोतमा भ्रष्टाचार गर्नु नै कम्युनिष्ट हुनु सावित भइरहेको छ । यदि देशको ढुकुटीलाई सुरक्षित राखेर दीगो आर्थिक विकासको लक्ष्य हासिल गर्नु छ भने प्रथमतः दुई तिहाईको मत्ता हात्ती सरकारको विकल्प खोज्नु श्रेयशेष्कर हुने देखिन्छ ।