दरबन्दी रिक्त हुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव

काठमाडौं, पुस १० । शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको जानकारी गराएका छन् ।

प्रवक्ता बरालले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएको बताएका छन् । सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त रहेको उनले सुनाए । सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने प्रावधान रहेको छ । तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको जनाइएको छ ।

उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन् । प्रवक्ता बरालका अनुसार अहिले ११६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली रहेका छन् । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।