काठमाडौँ, पुस १३ । झण्डै आठ लाख बराबर ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको अवस्थामा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको बताएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो संख्यामा छपाइ भइरहेको हो ।
केही दिनपछि नै दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने जानकारी गराएका छन् । विभागका महानिर्देशक हमालले छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने बताएका छन् । उक्त उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ ।
मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरु प्रिन्टरमार्फत दैनिक नौ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागकका साथ काम भई रहेको उनले सुनाए । उनका अनुसार आगामी चार÷पाँच महिनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने छ । विभागका महानिर्देशक हमालले ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने जनाएका छन् ।
पुराना चार उपकरण मर्मत गर्न लागिएको विभागले जनाएको छ । तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उहाँले बताउनुभयो । ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सात जना कर्मचारीले अहिले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ ।