पोखरा, पुस १६ । पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागत गर्दै धुमधामका साथ मनाइने भएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको स्थानीयले बताएका छन् । सो स्थानका होटलहरु यति बेला विदेशी पाहुनाहरुले भरिएको जनाइएको छ ।
पोखरामा मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको थियो । उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको आयोजक कमिटिले बताएको छ । सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ ।
सन् २०१९ को बिदाइका साथै सन् २०२० को स्वागत नाचगान र एकअर्कालाई नयाँ वर्षको शुभकामनाको आदान–प्रदान गरी मनाइएको थियो । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ मूल नारासाथ २१ वर्षदेखि मनाइँदै आएको सडक महोत्सवको अवसरमा पर्यटकका लागि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रम हेर्नका लागि चार ठाउँमा मञ्च निर्माण गरिएको थियो ।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रलाई सिङ्गारिएको चिरिच्याट्ट बनाइएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको अवधिभर १०० भन्दा बढी रेष्टुरेन्टबाट सेवा लिने व्यवस्था रहेको छ । महोत्सवको मुख्य आकर्षणमा पारम्परिक वेषभूषामा सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरका खानाका परिकार र विभिन्न प्रकारका वृत्तचित्र प्रदर्शनी रहेका थियो ।