आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनुपर्नेमा जोड

काठमाडौं, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु नै राम्रो पक्ष रहेको औंल्याएका छन् ।

उनले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी उक्त कार्यक्रममा जानकारी गराएका थिए । मन्त्री बाँस्कोटाले सबै मानिसहरु आफ्नो व्यवसायप्रति आत्मनिर्भर भए देखि भने मर्यादित तरिकाले बाँच्ने आधार तय हुनेमा दुविधा नरहेको बताएका छन् ।

सुदूपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अगामी दिनमा सुदूरपश्चिम सरकारले सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न थप सहकार्य गर्ने जानकारी दिँदै संघीय सरकारले पनि थप वित्तीय स्रोत प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघका जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलगायतले पत्रकार हक हितका बारे चर्चा गरेका थिए । सरकारले मर्यादित प्रेस बनाउने नाममा वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नहुँने वक्ताहरुको भनाई थियो ।