काठमाडौं, पुस १७ । भारतमा काम गर्ने नेपालीहरु कुनकुन काममा कति संलग्न छन् भनेर सन् २००९ मा दिल्लीमा एउटा अनुसन्धान भएको थियो । ४०२ जनाको नमुनामा आधारित त्यो अनुसन्धानले २३ प्रतिशत औद्योगिक कामदार, १३ प्रतिशत सेक्युरिटी गार्ड, ११ प्रतिशत होटल मजदुर, ८ प्रतिशत दैनिक ज्यालादारीमा काम गर्ने, ७ प्रतिशत घरेलु कामदार, ७ प्रतिशत ड्राइभर, ६ प्रतिशत वर्कशप हेल्पर, ६ प्रतिशत पसल कुरुवा, दक्ष कामदार, रेष्टुरेन्टहरुमा कुक, दक्ष कर्मचारी ३÷३ प्रतिशत, ७ प्रतिशत अन्य तथा ३ प्रतिशत बेरोजगार कर्मचारी रहेको देखिएको थियो ।
सानो नमुना संकलन र पूरानो तथ्यांक भए पनि भारतमा नेपालीहरु दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रमा रहेको चाहिँ प्रष्ठ पार्छ । एक अनौपचारिक तथ्याङ्क अनुसार करिब ४५ लाख नेपालीहरु भारतमा रोजगारीका लागि गएका छन् । दिल्लीस्थित एक संस्थाले गरेको अध्ययन अनुसार रोजगारीका लागि भारत गएका नेपालीहरु मध्ये २३ प्रतिशत उद्योग क्षेत्रमा कार्यरत छन् । चौकीदारीमा १३ प्रतिशत, होटल रेष्टुरेन्टमा र सामान्य स्तरको काममा ११ प्रतिशत नेपालीहरु काम गर्ने गर्छन् ।
सो संस्थाको तथ्याङ्कलाई हेर्दा चौकीदारका रुपमा रहेका ११ प्रतिशत बाहेक अरु सबै क्षेत्रका नेपाली कामदारहरुको रोजगारी धरापमा छ । उनीहरु जहिलेसुकै पनि कामबाट निकालिने सम्भावना बढेको छ । यसको सिधा असर नेपालमा पर्ने निश्चित छ ।भारतको पार्ले जी बिस्कुट कम्पनीले १० हजार कर्मचारी निकाल्ने तयारी गरेको छ । ब्रिटानिया कम्पनीले पनि पछिल्लो केही महिनामा बिक्री आधा घटेको प्रतिवेदन निकालेर खर्च कटौतीको घोषणा गरिसकेको छ । हिन्दूस्तान युनिलिभरको अप्रिलदेखि जुन बीचको बिक्रय वृद्धि ५ प्रतिशतमा सीमित भएको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सो कम्पनीको वृद्धिदर अघिल्लो वर्ष १२ प्रतिशतभन्दा धेरै थियो ।
डाबर इण्डियाको बिक्रय वृद्धिदरमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्ष २१ प्रतिशत बढेको बिक्रयको वृद्धि यो वर्ष ६ प्रतिशतमा सीमित भएको छ । बिक्री कम र नाफा घट्दै गएपछि ठूला बहुराष्ट्रिय कम्पनीहरुले समेत खर्च कटौतीको संकेत दिइसकेका छन् । कर्मचारी कटौतीको सिलसिला अटो सेक्टरमा झनै उच्च छ । अटो मोबाइलसम्बन्धी भारतीय रिजर्भ बैंकले तयार पारेको तथ्यांकअनुसार अप्रिलदेखि जुन महिनासम्म मात्रै स्कुटर, बाइक, मोपेड जस्ता दुईपांग्रे बाहनहरुको बिक्रीमा ११.७ प्रतिशतले कमी आएको छ । योसँगै सबैभन्दा धेरै मार यही क्षेत्रका कर्मचारीहरुलाई हुने देखिएको छ । अटो सेक्टरबाट मात्रै कम्तिमा १० लाख कर्मचारीहरु नोकरीबाट निकालिने भएका छन् । धेरै कर्मचारी निकालिइसकेका छन् भने कैयौं शाखाहरु बन्द भइसकेका छन् ।
सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीपछि सुला भएको नेपाल भारत सीमानाका कारण अहिले कति नेपाली भारतमा कार्यरत छन् भन्ने एकीन तथ्याङ्क छैन । यद्यपि यसबारे नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्र बैंकमा हुँदा एउटा अनौपचारिक अध्ययन गरेका थिए । हामीले पूर्वदेखि पश्चिमी भेगका मान्छेहरुको भारत जाने ट्रेन्डलाई हेरेर अनुमान गर्दा करिब ४५ लाख नेपाली भारतमा छन् भन्ने मोटामोटी अनुमान गर्यौं । त्यो राष्ट्र बैंकको आधिकारिक अनुसन्धान थिएन यद्यपि अहिले त्यसलाई नै सबैले मान्दै आएका छन् र त्यही अनुमानलाई सही मान्ने हो भने भारतको बन्दीले ४५ लाख नेपालीहरुको रोजगारीको भविष्य अनिश्चित हुन्छ ।