हेडौँडा, पुस १७ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वातावरण बनाइने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ द्वारा हेडौँडामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्ने औंल्याएका छन् ।
उनले पढाइ र सिकाइ फरक÷फरक कुरा रहेको स्पष्ट पार्दै पढाइले व्यावसायिक नबनाउँने तर सिकाइले व्यावसायिक बनाउने जानकारी गराएका छन् । उनले उक्त कार्यक्रममा सहभागी भएका शिक्षकहरुलाई आफ्ना विद्यार्थीलाई पढाउने होइन सिकाउने काममा सक्रिय हुनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमकेन्द्र परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्लेले हालसम्म १३ वटा जिल्लामा एक सयवटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन भइरहेको जानकारी गराएका थिए ।