नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धर ९ कक्षामा भर्ना भएकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा लागेको बताउने उनले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताउँछिन् ।
ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् । यसवर्ष भने उनले मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना गरेकी छिन् । उनकी छोरी कबिता भने हाल स्नातक तहमा अध्ययनरत रहेकी छन् । नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।
उनले ७ कक्षा पढ्दै गर्दा सिनेमा क्षेत्रमा प्रवेश गरि सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भए पनि औपचारिक शिक्षाको अभाव महशुस हुन थाले पछि विद्यालयमा भर्ना भएको बताइन् । उनी आफुलाई सिनेमामा पिएचडी नै गरेँ गरेको भन्दै औपचारिक शिक्षा भने नभए पछि उक्त अभाव पूरा गर्न अहिले अध्ययन थालेको बताउँछिन् । उनले पार्टीको कामका साथै फिल्मी क्षेत्रको व्यस्ततालाई पन्छाएर सकेसम्म धेरै समय विद्यालयलाई दिँदै आएको बताउँछिन् । उनले अहिले आएर अध्ययन थाल्दा रमाइलो महसुश भएको बताइन् ।
आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले खुसी व्यक्त गरे । व्यावहारिक शिक्षाका सँगसँगै औपचारिक शिक्षाको पनि उत्तिकै महत्व रहेको बुझेर विद्यालय भर्ना भएको करिष्माको भनाइ छ । यसो त कलाकारको रुपमा देश विदेश चहार्दा सँधै आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्न थालेपछि उनले उक्त पीडालाई भुलाउन अहिले विद्यालयको धाउन थालेको बताएकी छिन् ।