ललितपुरका फुटवल क्लवहरुलाई प्रोत्सान रकम हस्तान्तरण

ललितपुर, फागुन ४ । ललितपुर महानगरापालिकाले महानगरभित्रका ए, बी र सी डिभिजन क्लवहरुलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । महानगरले महानगरभित्र रहेका ५ वटा ए डिभिजन क्लवहरुलाई प्रोत्साहन स्वरुप ४÷४ लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही अनुसार ४ लाख पाउने ए डिभिजनमा रहेका फुटवल क्लवहरुमा थ्री स्टार, जावलाखेल, फ्रेण्डस्, ब्रिगेड व्वाइज र च्यासल रहेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएवापत थ्री स्टार क्लवले थप १२ लाख रुपैयाँ प्राप्त गरेको छ । थ्री स्टार क्लवले सिमारा गोल्ड कप, आहा गोल्ड कप र राजश्री जनक कपमा प्रथम स्थान हासिल गर्न सफल भएकोले थप १२ लाख रुपैयाँ प्राप्त गरेको हो । गत वर्ष थ्री स्टरले ७ वटा पदक हासिल गरेकोमा २८ लाख प्राप्त गरेको थियो । त्यस्तै च्यासलले २ वटा प्रतियोगितामा प्रथम स्थान हासिल गरेवापत ८ लाख र जावलाखेलले राष्ट्रिय स्तरको एक वटा प्रतियोगितामा प्रथम स्थान हासिल गरेवापत थप ४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रोत्साहन र प्रतियोगितामा जित हासिल गरेको आधारमा थ्री स्टारले १६ लाख, च्यासलले १२ लाख र जावलाखेलले ८ लाख प्राप्त गरे । ललितपुर महानगरले ४ वटा बी डिभिजन क्लवहरुलाई ३÷३ लाख रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेको छ । ३ लाख पाउने वी डिभिजनका क्लवहरुमा खुमलटार, सातदोवाटो, झम्सिखेल र पुल्चोक रहेका छन् । त्यसैगरी सी डिभिजनमा रहेका २ वटा क्लवहरु खालीबारी र सानेपालाई २÷२ लाख रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराएको छ । ललितपुर महानगरले आइतवार एक कार्यक्रम गरी फुटबल क्लवहरुलाई रकम हस्तान्तरण गरेको हो ।

महानगरले गत वर्ष देखि नै बार्षिक बजेटमा व्यस्था गरी ललितपुर महानगरभित्र रहेका ए, बी र सी डिभिजन क्लवहरुलाई प्रोत्साहन रकम हस्तान्तरण गर्दै आएको छ । रकम हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीवावु महर्जनले आगामी नगरसभाबाट निर्णय गराएर फुटवल क्लवहरुलाई दिइने प्रोत्साहन रकम बृद्धि गरिने जानकारी गराए ।

नगरप्रमुख महर्जनले भने, ‘गत वर्ष जस्तो धेरै पदक यस वर्ष ललितपुर महानगरपालिकाभित्रका फुटवल क्लवहरुले हासिल गर्न सकेनन् । यो हाम्रा लागि दुःखको कुरा हो, आगामी वर्ष बढि भन्दा बढि पदक ल्याउन सफल हुनुहोस् ।’