काठमाडौँ, भदौ २२ । स्थानीय तहको तेस्रो निर्वाचनका लागि प्रदेश नम्बर २ मा ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा गरी आज विहानसम्ममा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएकोे निर्वाचन आयोगले जानकारी गराएको छ ।
निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरण अनुसार हालसम्म प्रमुख तथा अध्यक्षमा एक हजार ४७७, उपप्रमुख तथा उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
उम्मेदवारी दर्तासम्बन्धी विवरण आउनेक्रम अझै पनि जारी छ त्यसकारण उम्मेदवारको संख्या अझै बढ्ने छ । प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा रौतहटमा १४६ परेको पाइएको छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य बुधबार सम्पन्न भएको थियो ।
उक्त मितिमा निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।