ललितपुर , चैत्र २ । भूकम्पका कारण भत्किएर बसेको ललितपुरको बुङमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरकोे पुनर्निर्माण गर्न उपभोक्ता समिति गठन गर्ने कामलाई पुर्णता दिइएको छ । पुनर्निर्माण कार्यले तिब्रता नपाउदा अलपत्र अवस्थामा रहेको उक्त मन्दिरको अबको काम अघि बढाउन अमिर शाक्यको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन गरी कामलाई तिब्र रुपमा अघि बढाईने भएको हो । हालसम्म मन्दिर पुनर्निर्माणको काम २० प्रतिशत पनि हुन सकेको छैन ।
सो समितिको उपाध्यक्षमा माणिकराज शाक्य, सचिवमा मधुकर तुलाधर, कोषाध्यक्षमा रिता महर्जन रहेका छन् ।
मन्दिर पुनर्निर्माणले लामो समयसम्म गति लिन नसकेपछि आर्थिक सहयोग गरेको श्रीलंकन सरकारले गत डिसेम्बरमा मन्दिर पुनर्निर्माणको कामबाट हात झिकेको थियो । यमन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । ठेकेदार कम्पनीले समयमा काम पुरा नगर्दा मन्दिर पुनर्निर्माणको काम अलपत्र परेको थियो । श्रीलंकन सरकारले हात झिके लगत्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गर्न ललितपुर महानगरपालिकालाई पत्र पठाएको थियो । उक्त पत्रलाई आधार मानेर ललितपुर महानगरपालिकाले समिति गठनको लागि अगुवाई गरेको हो ।
ललितपुर महानगरपालिका वडा नं २२ मा रहेको उत्तः मन्दिर रहेको छ । सार्वजनिक खरिद ऐन अन्तर्गत ठेक्का प्रक्रिया मार्फत उक्त कम्पनीले काम पाएको थियो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त ऐन अन्तर्गत काम गर्दा गुणस्तरीयता काम हुने, ठेकदारले समय काम नसक्ने जानकारी गराउदै आएका छन् ।
कार्यक्रममा संघीय सांसद पम्फा भुसालले रातो मछिन्द्रनाथको मन्दिरको अलपत्र परेको पुनर्निर्माणलाई गति दिन धेरै छलफल गरेको बताइन् । यस मन्दिरको पुनर्निर्माणमा आफूले सक्दो सहयोग गर्ने स्पष्ट पारिन् । काठमाडौंको रानीपोखरी र ललितपुरका रातोमछिन्द्र नाथको मन्दिर ऐतिहासिक महत्व र उपत्यकाको पहिचान भएपनि समयमा पुनर्निर्माण गर्न नसकेको बताइन् ।
ललितपुरको बुङमतीमा विशेष प्रकृतिका सम्पदा भएको बताउँदै तिनले प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने बताइन् । प्रदेश सांसद जीवन खड्काले मन्दिर पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने बताए । उनले ललितपुरका सम्पदा नेपालको समेत पहिचान भएको बताए ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐन अन्तर्गत काम गरेकाले रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको अवस्था यस्तो भएको बताए । उनले मन्दिर पुनर्निर्माणको विषयलाई लिएर श्रीलंकन सरकारका प्रतिनिधि तथा सरोकारवालालाई पटक पटक भेटेको बताए । उनले भने, ‘यो काम समयमा नसक्दा हामी सबैको इज्जत गएको छ , अब कुनै मतभेत हुनु हुदैन, कामले निरन्तरता पाउनुपर्छ ।’ उनले यो काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न अनुरोध गरे । ललितपुर महानगर वडा नं २२ वडा अध्यक्ष अम्बिरराज शाक्यले मन्दिर पुनर्निर्माणमा सबैको सहयोग आवश्यक पर्ने बताउँदै सहयोग गर्न अनुरोध गरे ।
स्थानीय तहको निर्वाचन हुनु अघि ठेकेदार कम्पनीसँग मन्दिर पुनर्निर्माणको लागि सम्झौता भएको थियो । कम्पनीले ५ करोड लागतमा उत्तः मन्दिरको निर्माण गर्न सम्झौता गरे पनि काम बिचमै छोडेको थियो ।
२०७२ सालको भूकम्प सुरक्षा दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माणको अभियान थालेकी थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओल्ले रातो मछिन्द्रनाथबाट अभियान सुरु गरेका थिए ।
उपभोक्ता समिति गठन गर्न पत्र आएपनि यसको लागत ,त्यो लागत कुन निकायले व्यहोर्न टुंगो लागेको छैन । मन्दिरको लागत स्टमेट भने पुरातत्व विभागले गर्ने छ । दुई वर्षभित्र काम सक्ने गरी ठेक्का पाएको थियो ।
मछिन्द्रनाथलाई सहकालका देवताको रुपमा पुजिन्छ । उपत्यकाकै पृथक र ऐतिहासिक महत्व बोकेको जात्राको रुपमा लिइन्छ र यसैगरी शनिवार नै सल्लाहकार समिति समेत गठन गरिएको छ ।
उक्त समितिमा संघीय सांसद पम्फा भुसाल, प्रदेश सासंद जीवन खड्का, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य,उद्योग वाणिज्यसंघ ललितपुरका कृष्णलाल महर्जन,यल ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, ज्यापु समाजका पूर्व अध्यक्ष कुलाल डंगोल, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टका डा.रोहित रंजितकार, संस्कृतिविद् डा प्रेम खत्री लगायत रहेका छन् ।