पाल्पा, भदौ २३ । राष्ट्रिय सभा सम्बन्धी ऐन संसदमा छिटो पेश हुने नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बताएका छन् ।
राष्ट्रिय सभा सम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए । प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट आउने बताएका छन् ।
संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउनका लागि पनि मंसिरमा नै निर्वाचन गर्नुको अर्को कुनै विकल्प नभएको उनको भनाइ छ । तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने भन्दै उनले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताए ।
प्रदेश नम्बर २ को निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उनले दावी गरेका छन् । शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको उनको भनाई छ ।