कॉग्रेसले देश तथा बिदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्ने,,

काँग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक वक्तव्यमार्फत विदेशमा रहेका नेपालीबारे काँग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटकपटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गर्नुभएको छ ।
हालसम्म विश्वभर करिब एक हजार २०० भन्दाबढी नेपाली कोरोनाबाट सङ्क्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उहाँले नेपालीलाई सङ्क्रमणबाट जोगाउने र सङ्क्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन सङ्गठित पहल जरुरी रहेको बताउनुभएको छ । काँग्रेसले सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ–“रोजगारी गुमाएका या रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न जरुरी छ ।” केही मुलुकले विदेशी श्रमिक फर्काउने घोषणा गरिसकेका सन्दर्भमा त्यस्ता देशमा रहेका नेपालीका सम्बन्धमा नेपालले आफ्नो धारणा बनाई उद्धार र तत्पश्चात्को आवश्यक बन्दोबस्तमा लाग्नुपर्ने काँग्रेसको सुझाव छ ।
प्रवक्ता शर्माले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीका सम्बन्धमा आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धार कार्यदल निर्माण गरी हरसम्भव व्यावहारिक प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभएको छ । यसैगरी महाकाली पारी धार्चुलामा रहेका नेपाली नागरिक तथा भारतका विभिन्न शहरबाट आएर नेपालको सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थितरुपले प्रवेश गराएर तीनै तहका सरकारको आपसी समन्वयमा क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको कर्तव्य भएको काँग्रेसले जनाएको छ । उहाँले भन्नुभयो–“विदेशमा रहेका विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तीर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर सरकारले उच्च आत्मीयता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्नै पर्दछ ।” साथै सरकारले कोरोनाको जोखिम सामना गर्न स्वदेशमा रहेका साना–ठूला व्यवसायीलाई व्यावसायिक सहजताको प्याकेज निर्माण गर्न जरुरी रहेको र विदेशमा रहेका नेपाली व्यवसायीका सन्दर्भमा पनि मुलुक र व्यक्तिगत परिस्थिति हेरी आवश्यक उच्चस्तरीय पहल र अभिभावकत्व अनुभूति गराउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रवक्ता शर्माले कोरोनासँगको सङ्घर्ष एवं यो सङ्घर्षपछिको नेपालका लागि स्वदेश र विदेशका सबै वौद्धिक मस्तिष्कले तत्कालिन र दीर्घकालिन पुनःउत्थान गर्न आवश्यक बहस र संवाद प्रारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाँले विदेशमा रहेका पार्टीका नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई थप एकता र गतिका साथ तत्कालीन र दीर्घकालीन प्रश्नमा आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभएको छ ।