पुनः दोस्रो चरणको लकडाउनको तयारी गर्दैछ सरकार,,,

काठमान्डौ,सरकारले बिस्वब्यापि महामारिको  रुपमा फैलिरहेको  कोरोना भाइरस नियन्त्रणका लागि  २०७६चैत्र११गतेदेखी जारी गरेको लकडाउन असार महिनाबाट केही खुकुलो गर्दै आएर  साउन ७ गते अन्त्य भएको घोषणा गरेको थियो।सार्बजनिक सवारीसाधन नचलेपनि निजि सबारी साधनभने चल्न दिएको थियो।उपत्यका बाहिर आउजाउ पनि केही खुकुलो पार्दै आएको थियो।लकडाउन अन्त्य गर्नुअघि कोरोना भाइरस संक्रमितको संख्या ‘फ्ल्याट’ (दैनिक एकदेखि दुई सयको हाराहारीमा) झरेको थियो ।

समयमै लकडाउन घोषणा गरेका कारण संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउनको निर्णयलाई सरकारले आफ्नो महत्वपूर्ण उपलब्धीमा गणना गरेको भएपनि लकडाउन खुला गरेपछि कोरोना भाइरसको संक्रमण व्यापकरुपमा वृद्धि भएको छ ।

प्रदेश १, प्रदेश २ उपत्यका र गण्डकी प्रदेशमा समुदाय संक्रमण भएको स्वास्थ्यबिज्ञ हरुले दाबी गरेका छन् । तर, सरकारले पनि समुदाय संक्रमण भएको प्रमाण नभेटिएको भन्दै पन्छिँदै आएको छ ।

विज्ञहरुका अनुसार स्रोत नखुलेका संक्रमित फेला पर्नु र संक्रमितमा कडा लक्षण फेला पर्नु समुदायको संक्रमणको अवस्था मानिन्छ । अहिले स्रोत नखुलेका संक्रमितहरु फेला पर्नेक्रम बढ्दोरुपमा देखिएको छ ।

देशभर २ जना संक्रमित हुँदा लकडाउन घोषणा गरेको सरकारले लकडाउनको अवधिमा गर्नुपर्ने आवश्यक तयारी गर्न सकेन । क्‍वारेन्टाइनको व्यवस्थापन, आइसोलेसन कक्षलगायतका पूर्वाधार विकासका लागि लकडाउनलाई सदुपयोग गर्नबाट सरकार चुक्यो ।

मुलुकको अर्थतन्त्र नै धराशयी बन्‍ने स्थितिमा पुगेपछि कुनै तयार र सावधानी बिना सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्‍यो । लकडाउन अन्त्य भएको घोषणा गर्दैगर्दा कोरोना संक्रमितको संख्या करिब २० हजार पुगेको छ भने ५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

संक्रमण नियन्त्रणबाहिर गएको अवस्थामा अब संक्रमण नियन्त्रणका लागि फेरि लकडाउन नै उत्तम उपाय भएको विज्ञहरुले विभिन्‍न सञ्‍चारमाध्यमहरुमार्फत बताउँदै आएका छन् ।

दोस्रो चरणको लकडाउन कहिलेदेखि र कुन मोडालिटीमा जारी गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविज्ञसँग परामर्श गर्ने भएका छन् ।

समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको बताइएको छ ।

कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय गरिरहेका छन् । यसअघि वीरगन्‍ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले स्थानीय तहले कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने बताउँदै केन्द्रले तत्काल कदम चाल्‍नुपर्ने बताएका छन् । उनलाई पनि कोरोना संक्रमण भएको छ ।

वीरगञ्ज, विराटनगर महानगरपालिका जोखिम डरलाग्दो स्थिति देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

लकडाउन खुलेपछि कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि तीव्ररुपमा वृद्धि भएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भइसकेको छ भने लकडाउनको चार महिनाको अवधिमा ३९ जनाको मात्रै मृत्यु भएको थियो ।