काठमाडौँ, भदौ २५ । यस वर्षका लागि लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ ।
शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो । आयोगले सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी गराए ।
समितिको निर्देशनमा आजदेखि नयाँ भर्ना प्रक्रियाका लागि काम थालेको बताउँदै उनले आजै सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै असोज पहिलो हप्ता रिक्त दरबन्दी पठाउन अह्राएको बताए । उनले रिक्त दरबन्दी आए पनि क्रमशः पूर्वनिर्धारित कार्यतालिका अनुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताएका छन् । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
आयोगले असोज अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ ।