पर्थमा फुटबलको माहौल
एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लीज फुटबल लिग आइतबार देखि प्रारम्भ हुने भएको छ । वेस्टर्न अस्ट्रेलियामा रहेका ६ वटा नेपाली र दुइवटा भुटानी फुटबल क्लब बिच यो लिग फुटबल दश हप्तासम्म चल्ने छ ।
पहिलो दिन आइतबार चार वटा खेल हुने छ ,जसमा लिग अन्तर्गत सबै टोलीले सबै टोलीसँंग प्रतिस्पर्धा गर्ने छ । लिग कम नक आउटका आधारमा सन्चालन गरिने यो फुटबल लिग यस भेगको निकै चर्चित प्रतियोगिता मानिन्छ । यस प्रतियोगिताको पहिलो स्थान हात पार्ने टोलीलाई ट्रफी प्रमाणपत्र र २५ सय अस्ट्रेलियन डलर प्रदान गरिने आयोजक समितीका संयोजक तथा पुराना फुटबल खेलाडी सुवास श्रेष्ठले बताए । अस्ट्रेलियाको पर्थमा बसेर पनि खेलकुदको माध्यमवाट पनि मुलुकको पहिचान बढाउन सकिन्छ भन्ने मान्यताका साथ आफुले यस प्रतियोगिताको सुरुवात गरेको आयोजक समितीका संयोजक श्रेष्ठले बताए ।
प्रतियोगितामा दोस्रो हुने टोलीले ट्रफी प्रमाणपत्र तथा १५ सय अस्ट्रेलियन डलर प्राप्त गर्ने छ । पछिल्लो बर्षदेखि प्रारम्भ भएको यस लिग फुटबलको यो दोस्रो संस्करण हो ।
लिगमा गोर्खा ब्वाइज एफसी ए ,गोर्खा ब्वाइज एफसी बी ,नेप्लीज युनाइटेड एफसी, सनराइज फुटबल ग्रुप,नमस्ते एफसी,भाषा पाठशाला एफसी, थिम्पु सीटी पर्थ एफसी , जाचुन युनाइटेड एफसी रहेका छन । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज ,सहायक प्रायोजकहरुमा अस्ट्रेलियन टेक्नीकल कलेज रहेका छन । प्रतियोगितालाई स्थानिय हिमालयन नेप्लीज रेस्टुरेन्ट ,फंकी मम, हिमाली गोर्खा ,एसकेएम फर्निचर लगायतले सहयोग गरेका छन ।