भदौ २६ । सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको युवा तथा खेलकुद मन्त्री राजन केसीले बताएका छन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको उद्घाटन गर्दै आज उनले खेलकुदको विकास गरी देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागिपरेको बताएका छन् । पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
पोखरालाई खेलको केन्द्र बनाउने हाम्रो योजना योजना रहेको बताउँदै उनले आसन्न दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग निश्चित भइसकेको जानकारी गराउँदै थप अध्ययनपछि उक्त संख्या सात/आठ पनि पुग्न पनि सक्ने बताए । उनले खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाको तयारी गर्न लागेको बताए ।
नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले नेपालमा लन टेनिसको विकासका धेरै सम्भावना रहेको कुरा उल्लेख गरे । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी गराएका छन् ।