संसद विघटनविरुद्ध देशभर नेपाली काँग्रेसको शक्ति प्रर्दशन

 

काठमाडौं/ पुस १३ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सोमबार देशभर शक्ति प्रदर्शन गरेको छ । काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरेका छन् । उनले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्ति निकालेर नबस्ने भन्दै कडा प्रतिवाद गर्ने बताए ।

काठमाडौंका १० निर्वाचन क्षेत्रलाई आधार बनाएर काँग्रेसले १० स्थानमा प्रदर्शन गरेको छ । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २ मा कोटेश्वर चोक, निर्वाचन क्षेत्र नम्बर ३ मा जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४ मा नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५ मा महाराजगन्जस्थित नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६ मा मनमैजुस्थित लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७ मा बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८ मा बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९ मा कलंकी चोक र निर्वाचन क्षेत्र नम्बर १० मा कीर्तिपुर बजारलाई विरोध कार्यक्रम स्थल तोकिएको थियो । जसअनुसार सरकारविरुद्ध नाराबाजीसहित विरोधसभा गरिएको छ ।