नेकपा मिलाउन चिनियाँ टोली नेपालमा

काठमाडौं । १३ पुस, आइतबार दिउँसो काठमाडौं उत्रिएको चिनिया टोलीले पहिलो भेट नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्‍यो । चारदिने भ्रमणमा आएको यो टोलीले नेपालका सबै पार्टीका उच्च तहका सबैजसो शीर्ष नेताहरूसँग भेट्दैछ । पुस ७ मा मात्रै विभाजित भएको नेकपाका दुवैतर्फका नेताहरुलाई यो टोलीले भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

गुओ यैचौको टोलीले नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार भेट्दैछ । नेताहरुसँग हुने भेटवार्ता र सम्वादको उद्देश्य प्रष्ट गरिएको छैन ।

चीनका नेताहरुको पछिल्लो नेपाल भ्रमण र चासोलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपालाई एक ढिक्का बनाई राख्नका लागि चीनतर्फबाट भएका पछिल्ला पहलकदमी र अहिले देखिएको संकटले पनि यो भ्रमणको उद्देश्य कूटनैतिक मात्रै नभएको विश्लेषकहरु बताउँछन् ।

चीन र नेपाल सम्बन्धबारे जानकार कल्याण रोका, यो भ्रमणको उद्देश्य नेकपालाई फुट्नबाट रोक्न सकिन्छ कि भन्ने पहलकदमीकै लागि भएको हुन सक्ने नकार्दैनन् । रोका भन्छन्, ‘ चिनियाँ टोलि नेकपा फुट्नबाट जोगाउने र उनीहरुलाई मिलाउने उद्देश्यले भ्रमण भएको हुन सक्छ ।’