मेचीदेखि महाकालीसम्म रेल आउँछ–प्रधानमन्त्री ओली

सुदूरपश्चिम,फागुन १० गते वेदकोट नगरपालिका २ छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको भू भाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् ।

महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण सुरू भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैंदेखि सिँचाइ हुन नसकेका क्षेत्रमा सो को प्रबन्ध गरी कृषि उत्पादनमा युवा बर्गलाई लाभाविन्त गरिने बताए ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकोमा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम सुरू हुने आश्वशन दिएका छन् ।

उनले भने, ‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य सुरू भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि आउँछ ढुक्क हुनुहोस् ।

अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए।

औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए।