कृष्णप्रसाद भट्टराईको नाम चौतारीलाई टाउको दुखाई

काठमाडौं, भदौ २६ । प्रेस चौतारी नेपालले पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको नाममा ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ को गठन गर्नु  सञ्चारकर्मीको भावना विपरीत रहेको भनी  विरोध जनाउँदै संचार प्रतिष्ठानको नाम कृष्णप्रसाद भट्टराईको नाममा नभई ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’ गठन गर्नुपर्ने माग राखेको  छ ।

आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई कुनै नेताको नाममा जोडेर अरु कुनै राजनीतिक रंग दिने काम गर्न खोजेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गर्नका लागि आज प्रेस चौतारी नेपालले अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई सुचना तथा संचार मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

२०१२ सालमा नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईले सम्पूर्ण नेपाली पत्रकारिता जगतको हकहितका लागि नेपाल पत्रकार महासंघको स्थापना गरेका थिए । स्व. भट्टराई संस्थापक अध्यक्ष रहेका थिए । उनले रोपेको विरुवा पत्रकार महासंघ आज देशकै गरिमा बोकेको संस्थाको रुपमा स्थापित भइसकेको छ । राजनैतिक आस्थाका आधारमा उनी कांग्रेस भएकै कारणले उनले गरेको ऐतिहासिक कामको अवमुल्यन गरि प्रेस चौतारी नेपालले कृष्णप्रसाद भट्टराईको नाममा नभई आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान गठन गर्न माग गरेको हो ।

आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानसहित चौतारीले मन्त्री बस्नेतलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । जसमा समानुपातिक बिज्ञापन, क्लिन फिल्ड रोक्ने निर्णय फिर्ता गरी कार्यान्वयन, बैंकमार्फत श्रमजीवि पत्रकारको पारिश्रमिक भुक्तानी गर्नुपर्ने जस्ता माग रहेका छन ।