विद्यालय व्यवस्थापन समितिका लफडाले शिक्षक नियुक्ति र विद्यालयमा पठनपाठन प्रभावित

माया पन्त

जाजरकोट, भदौ २६ । लामो समयदेखि जाजरकोटका दुई विद्यालयमा शिक्षक नियुक्ति हुन नसक्दा विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो पक्षको उम्मेदवारले लिखित परीक्षामा कम नम्बर ल्याएपछि ३ महिनादेखि मौखिक परीक्षा संचालन नभएको हो ।

जिल्लाको त्रिबेणी नलगाड नगरपालिका ६ स्थित जनप्रिय प्राथमिक विद्यालय पिउली तथा छेडागाड नगरपालिका १२ को चन्द्रज्योति आधारभुत विद्यालय मनघाटले मौखिक परीक्षा लिन आलटाल गरेका हुन् । करार शिक्षक नियुक्तिको अधिकार विद्यालयलाई हु“दा समस्या भएको हो । जनप्रिय प्राथमिक विद्यालय पिउलीका अध्यक्ष दिपबहादुर विक र चन्द्रज्योति आधारभुत विद्यालय मनघाटका अध्यक्ष देबीलाल जैसीले मौखिक परीक्षा लिन आलटाल गरेको निमित्त जिल्ला शिक्षा अधिकारी धननजय आचार्यले बताउनु भयो । उनीहरुले विद्यालयको पठनपाठन, गुणस्तरीय शिक्षा भन्दा पनि आफन्तलाई जागीर खुवाउनका लागि यस्तो हर्कद देखाएका हुन्, आचार्यले भन्नु भयो । विद्यालयका स्रोत व्यक्तिलाई खटाइएको छ उनीहरुको प्रतिवेदन आएपछि कार्यालयले आवश्यक कारकाही प्रक्रिया अगाडि बढाउने आचार्यको भनाइ छ ।

जनप्रिय प्राथमिक विद्यालय पिउलीले गत असार १२ गते करार शिक्षक नियुक्तिका लागि लिखित परीक्षा संचालन गरेको थियो । प्राथमिक राहात शिक्षक नियुक्तिका लागि संचालन भएको लिखित परीक्षामा डेड् दर्जन परीक्षार्थी सहभागी भएका थिए । उक्त परीक्षामा रुकुम चौरजहारी नगरपालिका १२, खोलागाउका मनोज शर्मा, छेडागार नगरपालिका ९ का बलबहादुर नेपाली र स्थानीय बलबहादुर नेपालीले नाम निकाल्न सफल भए । तर स्थानीय बलबहादुरले लिखित परीक्षामा सबै भन्दा कम नम्बर प्राप्त गरेपछि अध्यक्ष विकले आफ्नो पक्षका उम्मेदवार बलबहादुर शिक्षक नबन्ने पक्का भएपछि अध्यक्ष दीपबहादुरले ३ महिना वित्दा पनि मौखिक परीक्षा गर्न आलटाल गर्दै आएका छन् । भने त्यस्तै राहात शिक्षक नियुक्तिका लागि गत साउन ४ गते लिखित परीक्षा संचालन गरेको चन्द्र ज्योतिले लिएको लिखित परीक्षामा खीमबहादुर खड्का, खगेन्द्र बस्नेत र स्थानीय सरन खत्रीले नाम निकालेका थिए ।

लिखित परीक्षामा स्थानीय खत्रीको नम्बर सबै भन्दा कम भै नियुक्ति नपाउने देखिएपछि विद्यालयका अध्यक्ष देबीलाल जैसीले अनिश्चतकालका लागि मौखिक परीक्षा स्थिगीत गरेका हुन् । अध्यक्ष जैसीले लामो समयदेखि विद्यालयमा शिक्षक नियुक्तिमा आलटाल गरेको भन्दै अभिभावक तथा विद्यार्थीले चन्द्रज्योति आधारभुत विद्यालय मनघाटमा अनिश्चितकालिन तालाबन्दी गरेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर शाहीले बताउनु भएको छ । अध्यक्ष जैसीका कारण विद्यालय अस्तव्यस्त बनेको शाहीको भनाई छ । विद्यालय क्षेत्र राजनितिक थलो बनेका शाहीको भनाइ छ ।

यी विद्यालय त प्रतिनिधी उदाहरण मात्र हुन् । जाजरकोटमा विभिन्न तहका अस्थायी तथा करार शिक्षक पदमा आफ्नो नातेदार र नजिकको ब्यक्तिलाई नियुक्ति गर्न सबै खाले अनियमितता हुने गरेको छ । आर्थिक लेनदेन गर्ने, प्रश्नपत्र बाहिर्याउने, उत्तर पुस्तिका परिवर्तन गर्ने लगाएत हर्कत हुने गरेका छन् । विद्यालय ब्यबस्थापन समिति, प्रधानाध्यापक र विषय विशेषज्ञको मिलोमतोमा अनियमितता हुने गरेको छ । जनप्रिय र चन्द्रज्योतिले मौखिक परीक्षा संचालन गर्न ढिलाई गर्दा विद्यार्थीको पढाईमा बाधा पुगेको छ ।

राजनिती खिचातानीले शिक्षा क्षेत्रमा प्रभाव पारेको छ । यस जिल्लाको शिक्षा क्षेत्रमा भएका दर्जनौं समस्यालाई समाधान गर्दै अघि बढे पनि शिक्षक नियक्ति, सरुवा लगाएत अनियमितताका कारण तत्काल निरुपण हुन नसकेको बताइएको छ ।