आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने–आयुक्त प्रमुख राई

काठमाण्डौ,फागुन १५ गते टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गर्ने जोसुकैलाई तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने बताएका छन् ।

उनले भने, ‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षा अनुसार सबैले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्ने छैन।’

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको र आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्नेसमेत आयुक्त राईले बताए ।

राईले प्रतिसोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदै नहुने भन्दै आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने प्रतिबद्धता व्यक्त गरे।

आयोगलाई अझ प्रभावकारी रुपमा भ्रष्टाचारविरुद्ध निगरानी गर्ने निकायको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको भन्दै भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिकको समेत सहयोग खाँचो रहेको औँल्याउँदै सबैको साथको अपेक्षा गरेको छु उनले भने ।

हालै अख्तियारको प्रमुख आयुक्तमा नियुक्त राईलाई बधाइ दिन सोही कार्यक्रममा काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेतीलगायत पुगेका थिए ।