न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्ति हौँ–परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डौ,फागुन १६ गते नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनापछि संसद्मा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।

उनले दलहरुको नीतिविहीन गठबन्धन हुँदा सांसदहरुको खरिद–बिक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले भने, हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं ।

न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरि संसद् सांसदहरुको खरिद–बिक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?

मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए । सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफरिस भएको बताए ।

गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताए । तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थानमाथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको मन्त्री ज्ञवालीले दाबी गरे ।