पहिलो एकता केपी र प्रचण्डबीचकै हुनुपर्छ–उपाध्यक्ष गौतम

काठमाण्डौ,फागुन २० गते कोभिड– १९ कोरोना भाइरस विरूद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समूह र ओली समूहको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन्।

गौतमले, सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल ’प्रचण्ड’ माधवकुमार नेपाल समूह र केपी शर्मा ओली समूहका दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाव दिने र एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने बताएका हुन्।

उनले भने, ‘धेरै ठाउँमा उहाँहरूले बोलेको भनेको सबै सभाहरूमा बोलेको ठूलाठूला सभाहरूमा बोलेको ती सबै सुन्दाखेरी एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन, मेरो चाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरूलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने, एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने बताए ।

यो अभियान अब हामीले चलाउँदै छौं र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला, पहिलो एकता केपी र प्रचण्डबीचकै एकतालाई हो हामीले मान्ने त्यो अरूले एकता गर्दैमा त्यो एकता हुँदैन, जनताले पनि मान्दैन, विश्वले पनि मान्दैन,दुइटालाई एकताबद्ध गरेपछि फेरि यो पार्टी एकताबद्ध भयो भन्ने हुन्छ गौतमले भने ।

उनले भने, उहाँहरूलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरूको वरिपरि बसेकाहरूलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलनप्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर अनि उहाँहरूलाई एकताबद्ध गराउने पक्षमा म छु।’