विराटनगर, भदौ २७ । प्रधानमन्त्री शेरवहादुर देउवाले देश को शासन ब्याबस्था नै संकटमा परेपछि मन्त्रीमण्डल विस्तार गर्नुपरेको खुलासा गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँगको परामर्श र सहमतिपछि मन्त्रिमण्डल विस्तार गरेको पनि बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीमा अप्ठेरो परेकाले बाध्यात्मक परिस्थिति को बिच मन्त्रिमण्डल विस्तार गरिएको जानकारी गराएका छन् । निर्वाचन आयोगले मन्त्रिपरिषद बिस्तार निर्वाचन आचार संहिता बिपरित रहेको बताएपछि प्रधानमन्त्री देउवाले आयोगको सहमतिमा नै मन्त्रिमण्डल बिस्तार गरिएको प्रष्टिकरण दिएका छन् । मन्त्रिमण्डल बिस्तार पुरानै कुराको निरन्तरता भएकाले आफ्नो यस कार्यले निर्वाचन आचारसंहिता उल्लंघन नहुने प्रधानमन्त्री देउवाले दावी गरे ।
देउवाले मन्त्री मण्डल विस्तार गरेर अहिलेको सरकारले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र निर्वाचन आयोगलाई पनि अप्ठारोमा पार्न नखोजेको कुरा अवगत गराए । तपाईंको सरकारले जम्बो मन्त्रिपरिषदको कीर्तिमा नै बनायो नि ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले भने , ‘सरकारको काम कारवाही अगाडि वढाउने क्रममा कतिपय अवस्थामा अप्ठारेमा पर्छ, त्यो अवस्थामा मन्त्रिमण्डल विस्तार गर्नु सामान्य कुरा हो । ‘देशमा हुन गहिरहेको प्रदेशसभा र प्रतिनिधि सभा को निर्बाचन तोकिएको समय भित्रै गराउन पनि यो जरुरी भएको कुरा प्रधानमन्त्री देउबाले जिकिर गरे । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको देउवाले बताए ।
संविधान संशोधनको सम्बन्धमा सोधिएका प्रश्नमा जवाफ दिँदै देउवाले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुर रुपमा रहेको उल्लेख गरे । नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा प्रमले यस विषयमा छानबिन भइरहेको जानकारी गराए । नेपाली काँग्रेसको सभापतिसमेत रहेका उनले पार्टीको विधान अनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पारेका छन् । मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताएका छन् ।