माया पन्त
जाजरकोट, भदौ २७ । जाजरकोट र रुकुम जिल्ला जोड्ने डोल्पा भेरी कोरीडोर मार्गको चिसापानी बैरीताल स्थित भेरी नदीको मोटरेवल पुल निर्माणको कार्य अलपत्र परेको छ ।
चार बर्षमा निर्माण सम्पन्न गर्ने भनिएको भए पनि कम्पनी तथा सम्वन्धित निकायको ढिलासुस्तीका कारण ५ बर्षदेखि निर्माण कार्य अलपत्र परेकोे हो । नदीको दुबै तर्फका पिलर निर्माणको काम आधा मात्र भएर अन्य निर्माण रोकिएकै ४ बर्ष वितिसकेको छ । ४ बर्ष अघि आशिष निर्माण सेवा काठमाण्डौंले निर्माणको जिम्मा लिएको उक्त पुल ६६ मीटर लम्बाई तथा ९ मिटर चौडाइ छ । ८ करोडको लागतमा निर्माण हुने पुलको अवधी गत मंसीरमा सकिएको सडक डिभीजन चौरजहारीले जनाएको छ ।
सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई ३६ महिना म्याद हुन्छ । चालु आर्थिक बषर्मा पुलको निर्माण सम्बन्धि कुनै पनि प्रगति भएको छैन । निर्माण कम्पनीले पुल निर्माणमा प्रयोग गरीने उपकरण अन्यत्रै लिएर कार्य रोकेको पाइएको छ । व्यवशायीले हचुवाका भर दररेट हाल्ने, सम्झौता गर्ने, पेश्की लिने र काम गर्दा आलटाल गर्ने प्रवृतिले निर्माण अलपत्र परेको छ । प्राविधिक कारणले निर्माण ढिलाइ भएको र छिटै नै काम सन्चालनमा आउने सडक डिभीजन चौरजहारी रुकुमका डिभिजन प्रमुख आशिष थापा को भनाइ छ ।
पुल निर्माण ढिलाई हुँदा जाजरकोट – डोल्पा सडक, नलसिंह गाड जलविद्युत लगाएत आयोजना निर्माणमा समस्या भएको छ । पुल निर्माणको ढिलाईले बारेकोट, दल्ली, लह लगाएत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।