सुपर लिग को लागी खेलाडी अक्सन भोलि ​हुने

बैसाखमा आयोजना हुने फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएल शुक्रबार हुने भएको छ । तर अक्सनको अघिल्लो दिनसम्म पनि खेलाडीहरु भने यस विषयमा अनभिज्ञ छन् ।

नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलका सहभागी ७ फ्रेन्चाइज टोली चैत १ गते सार्वजनिक गरिएको थियो । घरेलु फुटबलमा खेलाडीको अक्सन हुन लागेको यो पहिलो पटक हो । हरेक टोलीले १ जना मार्की राख्नु पर्ने प्रावधान अनुसार अधिकांश टोलीले मार्की खेलाडी घोषणा गरिसकेका छन् ।

मार्की खेलाडी, विदेशी खेलाडी भने अक्सनमा नरहने श्रोतले बतायो । अक्सनबाट हरेक टोलीले १४ खेलाडी लिन पाउने बताइएको छ । अक्सनका लागि ‘ए’,’बी’, ‘सी’ गरि तीन श्रेणीमा खेलाडी लाई न्युनत्तम मुल्यबाट बोली लगानेछ । ‘ए’ श्रेणीका खेलाडीको न्यूनत्तम मुल्य २ लाख रुपैयाँ रहने बुझिएको छ ।

फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी अक्सनका लागि उपलब्ध गराउने बताइएको थियो । एनएसएल सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने जनाएको छ । हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने म्यानेजमेन्टले यसअघि नै बताएको थियो ।

राष्ट्रिय टोलीमै रहेका खेलाडीसँग पनि हालसम्म यस विषयमा छलफल भएको छैन । खेलाडीको श्रेणी मात्र नभएर खेल्ने वा नखेल्ने नै निर्धारण हुन सकेको छैन । कतिपय खेलाडीले श्रेणीअनुसार तोकिएको रकममा नै चित्त नबुझेपछि सहभागिता नजनाउने बताएका छन् ।

एन्फाले खेलाडीको जिम्मेवारी लिने भनेपनि नेपालका खेलाडी एन्फासँग कुनै किसिमको सम्झौतामा नरहेका कारण खेल्ने नखेल्ने निर्णय खेलाडीमा निहित हुन्छ ।
हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडी सम्म उतार्न पाइने प्रावधान गरिने बताएको छ । एउटा टोलीले विदेशी खेलाडी ३ जना लिन पाउने र २ खेलाडी उतार्न पाइने जनाएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्राविधिक सहयोगमा हुने एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुने यसअघि नै घोषणा गरिएको थियो ।

एनएसएल खेल्ने टोलीमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब छन् । एनएसएल घोषणा भएको २ वर्षपछि आयोजना हुन लागेको हो । २०७६ कै वैशाख र जेठमा आयोजना गर्ने गरि एन्फा र म्यानेजमेन्टबीच २०७५ को पुसमा सम्झौता भएको थियो ।