बारा, चैत्र १० गते राहुल गुप्ता,कोल्हवी नगरपालिकाका ३५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । महिलाहरुमा हुने प्रजनन स्वास्थ्य सम्बन्धी समस्यालाई मध्यनजर गरी श्री साथी नेपाल र नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरको पहिलो दिनमा ३५० जनाको परीक्षण गर्दा ५ जनामा क्यान्सर देखिएको हो ।
उक्त नगरपालिकाको १ नम्बर वडामा मंगलबारबाट सुरु भएको २ दिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन ३५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको श्री साथी नेपालकी उपाध्यक्ष सिता सुवेदीले जानकारी दिइन् । शिविरमा स्वास्थ्य परीक्षण गराउनेमध्ये ५ जनालाई क्यान्सर देखिएको पनि उपाध्यक्ष सुवेदीले बताइन् । ११ गतेसम्म सञ्चालन हुने शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार लगायत महिला सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचार गरिने आयोजकले जनाएको छ ।
कोल्हवी नगरपालिका बारा र उक्त संस्थाले संयुक्त रुपमा आयोजना गरेको शिविरमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी रोगको परीक्षण गरी अपरेशन गर्नुपर्ने बिरामीका लागि काठमाडौंमा निःशुल्क अपरेशन गरिने जनाइएको छ । श्री साथी नेपालका अध्यक्ष सरिता सापकोटाको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रममा जागरण आमा समूह पोखरेल गेलका कल्याणी विमलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कोल्हवी नगरपालिकाका प्रमुख तथा शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भरत भण्डारीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा शिव रिजाल, कालिका भण्डारी सति देवी उप्रेती, कोपिला तिमल्सिना, डा. रिति लामिछाने, कृष्ण सिखु र रमा दहाल लगायत उपस्थिति रहेको थियो