किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने–सांसद यादव

वीरगञ्ज पर्सा,चैत्र २३ गते क्षेत्र नम्बर १ का प्रतनिधि सभा सदस्य प्रदिप यादवले कृषिप्रधान देशमा किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान थालेपनि किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने धारणा राखे ।

यादवले, धान, गहुँ, उखु, माछापालन लगायतबाट आम्दानी गर्ने किसानहरुलाई कर कार्यालयले दुःख दिने गरेको बताउँदै कृषकलाई सहज रुपमा किसानी गर्ने वातावरणको सृृजना गर्न समेत माग गरेका छन् ।

यस्तै सांसद यादवले वीररगञ्जस्थित आईसिपीको बाटोबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न दिएपनि सर्वसाधारण नागरिकलाई भने आवतजावत गर्न रोक लगाएकोमा आपत्ति जनाए ।

रोजीबेटीको सम्बन्ध भएको भारत र नेपालका बासिन्दालाई आवतजावतमा रोक लगाउनु अनुचित भएको बताउँदै सांसद यादवले सभामुखमार्फत अर्थमन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

त्यसैगरी कोरोना भाइरसको महामारीमा अन्य सामान्य बिरामीका लागि समेत ढोका बन्द गरेका निजि अस्पतालहरुले अहिले नयाँ धन्दा शुरु गरेको यादवले बताए ।

वीरगञ्जका केही निजि अस्पतालहरुले बारा, पर्सा र रौतहटका एम्बुलेन्स चालकहरुसँगको मिलेमतोमा बिरामीहरु ल्याइदिएबापत कमिशन दिने गरेको र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गर्ने निजि अस्पतालहरुलाई कारवाही गर्न समेत यादवले माग गरे ।