– माया पन्त
जाजरकोट, भदौ २७ । जाजरकोटको बारेकोट गाउँपालिका २ र ९ वडाको जीरी तथा खारीकाप्ती गाउँको बस्तीमा खाने पानीको चरम अभाव कायमै छ ।
विगत लामो समयदेखि स्थानीय बासिन्दा शुद्ध पिउने पानीको सुबिधाबाट बन्चित भएका छन् । बस्ती नजिक खानेपानीको मुहान नहुँदा नायकवाडाको जीरी र सक्लाको खारीकाप्ती गाउँका २ सय बढी घरपरिवार शुद्ध पिउने पानीका लागि २ घण्टाको दुरीमा रहेका खोला तथा नाउला कुवामा संकलन भएको धमिलो पानी पिउन वाध्य छन् । त्यहाँका बासिन्दा र उनीहरुले पालेका चौपायाले पिउने पानीको पनि एक मात्र कुवा कै विकल्पको रुपमा रहेको छ । घरमा अन्य समस्या भन्दा पनि पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले बढी सताउने स्थानीय बताउँछन् । महिलाहरुको दैनिक पानी ओसार्न मै वित्ने गरेको छ । पानीका लागी पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको स्थानीय महिलाहरुको भनाइ छ ।
जुन कुवामा पशुचौपायाले पिउछन् त्यसैबाट मान्छेले पिउने पानी ल्याउनुपर्ने बाध्यता छ । ४ हजार मीटरको उचाईंमा रहेका गाउँमा पिउने पानीको चरम अभाव छ । बस्ती नजिक पानीको समेत श्रोत नभएकाले गाउँभरका पशुचौपायाले खाने र मान्छेले खाने एउटै कुवाको पानी हो । बर्षात भए आकाशे पानी संकलन गरेर पानी पिउने त्यहाँका बासिन्दाको दैनिकी नै हो । खानेपानी अभावमा दैनिक सरसफाई लगाएत कार्य गर्न समस्या छ ।
२ घण्टा टाढाबाट पानीको जोहो गर्दै स्थानीय,
२ सय घर र तीनका पशु बस्तुले एउटै कुवाको दुषित पानी पिउदै
स्थानीय बासीले कुवाको गन्ध आउने दुषित पानी नखाई नहुने अवस्था छ र गाउँमा शुद्ध पानी नहुँदा आगुन्तुक पनि बास नबसि अन्यत्र जाने गरेका छन् । पानीको अभावमा गाउका चर्पी प्रयोग विहिन छन् । स्थानीय खोला खोल्सामा, जंगल खुला स्थानमा दिशापिसाव गर्ने गरेका छन् । स्थानीय बासिन्दा झाडापखला, आउ, जुका लगाएत रोगको प्रकोपबाट पिडित हुने गरेका छन् । पिउन, सरसफाई गर्न र पशु बस्तुका लागि एउटै श्रोत हुँदा समस्या भएको छ । यसप्रति कोही सरोकारवाला निकायको नजर पुग्न सकेको छैन । गाउँका पढ्नेलेख्ने बालबालीकाको समय पनि पानी ओर्सानमै वित्ने गरेको छ ।
पञ्चायतकाल देखि नै गाउँमा खाने पानीको समस्या रहेको बारेकोट गाउँपालिका ९ का वडा अध्यक्ष शसीराम गौतमले बताउँछन् । जलवायु परिवर्तन, बढ्दो बन विनास, बाढी पहिरो, सुख्खा खडेरी लगाएत कारणले जाजरकोटमा पानीमुहान सुकेर गएका छन् । दुषित पानीले २ सय बढी घरका बासिन्दाको स्वास्थ्य जोखिममा रहेको छ । पानीको गाग्री भर्न हतारोमा गाउँका महिलालाई हुने गरेको छ ।
३ नगरपालिका र ४ गाउँपालिका रहेको जाजरकोटमा खानेपानीको विकराल समस्या छ । जिल्लामा सरकारी र गैरसरकारी निकायले वर्षेनी खानेपानीका लागि करोडौं रकम खर्च गरे पनि समस्या जीउका तीउ छ । बनेका पानेपानी आयोजनाहरु बर्ष नपुग्दै भत्केर जाने गरेका छन ।
जिल्लाका ३० हजार घरधुरीमध्ये १३ हजार घर परिवार स्वच्छ खानेपानीको पहुँच बाहिर रहेको तथ्याङ्कमा उल्लेख छ ।