इन्डियन प्रिमियर लिग आइपिएल फ्रेन्चाइज रोयल च्यालेन्जर्स बैङ्ग्लोरका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । चौधौँ संस्करणको आइपिएलअन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा आइपिएलको आचारसंहिताविपरीत कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको हो ।
बुधबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको खेलमा आइपिएलको लेभल १ को नियमविपरीत काम गरेको भन्दै आइपिएलले विराटलाई कारबाही गरेको हो । उनलाई आइपिएलले म्याच फिको १५ प्रतिशत जरिवाना लगाएको छ ।
जासन होल्डरले आउट गरिदिएपछि ड्रेसिङ रुम फर्किनेक्रममा रिस पोख्दै उनले डगआउटमा आफ्नो ब्याटले खाली कुर्सीमा जोरले प्रहार गरेका थिए । आइपिएलको नियमअनुसार क्रिकेट उपकरण, कपडा वा मैदानमा भएका उपकरणमाथि क्षति पुर्याउन पाइँदैन ।
हैदरावादविरुद्ध विराटले २९ बलमा ४ चौकाको सहायताले ३४ रन बनाएका थिए । उक्त खेलमा बैङ्ग्लोर छ रनले विजयी भएको थियो ।