“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो !
इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो !!”
मृत्युलाई कसैले न छेक्न सक्छ न टार्न र रोक्न नै सक्छ । कुन रुपमा आयो काल थाहा छैन, तर जे नहुनु थियो, गराएर गयो । मेरा पीडा र खु:सी बाढ्ने मेरी प्यारी कान्छी दिदी जसले हामी भाइहरुलाई हुर्काउन,बढाउनदेखि लिएर क ख रा सिकाउन समेत अथक मेहनतगर्नुभयो । आमाले छोडेर गएपनि मैले अर्कि आमाको रुपमा दिदीलाइ हेरेको थिए तर बिश्वब्यापि महामारिको रुपमा फैलिरहेको पापि कोरोनाले दिदीलाइ हराइ छाड्यो दिदीले कोरोनासंगको लडाइमा पराजय हासिल गरेर हामिलाइ टुहुरो बनाएर ५८ बर्षको अल्पायुमै महाप्रस्थान गर्नुभएको पनि आज बार्ह्रौ दिन बितिसकेको छ। हामी सबैकी प्यारी दिदीलाई स्वर्गमा उच्चत स्थान मिलोस् भन्दै स्वर्गियआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
यो तीन बर्षको बीच हाम्रो परिवारले यति ठूलो बज्रपात खेपिरहेको छ।परिवारका पॅाच जना सदस्यहरुले सदासदाका लागि हामिलाइ छोडेर गइसकेका छन।तिनबर्षमा पॅाच पॅाच जना परिवारको बियोगले परिवार शोकमा डुबेको छ।
साबिक ओखलढुंगाको बिलन्दु गाबिस हाल चम्पादेबी गॅाउपालिका वाड नं आठ जन्मनु भएकी दिदी मेनुका पुडासैनि भगवानकी प्यारी हुनुभएको आज बाह्रौ दिन भएको भएतापनि यो मन पत्याउन तयार भइरहेको छैन तरपनि भगवानको खटन स्वीकार गर्नसिवाय के नै रहेछ र!
दिदीको भौतिक उपस्थितिले मात्र पनि परिवारको गहनता बढेको अनुभुति हुन्थ्यो । दिदी मेरो मात्र नभएर तत्कालिन अशिक्षाबाट गुज्रिरहेको समाजमा शिक्षित र राजनैतिक सुझबुझ भएको तत्कालिन समाजका अगुवाहरुको पनि आड र भरोसाका केन्द्र हुनुहुन्थ्यो । २०५४सालको स्थानीय निर्बाचित वडा अध्यक्ष सम्म हुनु भएकी हाम्रि दिदी अझै पनि राजनीतिमा उतिकै चासो राखेता पनि समय र परिस्थिति अबस्य पनि उहाँलाई सहज नभएको महसुस मैले गरेको छु । वास्तविक जिन्दगी र जीवन–जगत् आदर्श भन्दा अलि फरक हुँदो रहेछ ।त्यो बीचमा आफू सुःखी देखिएर बाँच्नु पर्ने बाध्यता छ । जन्मदाता आमा–बुवा लगायत दिदी मेनुका पुडासैनी,जेठी भाउजु सरला,भतिज प्रल्हाद पालै–पालो कहिल्यै फेरि भेट हुन नपाउने गरी बिदा भइसक्नु भएको छ । वितेका आफन्तहरुलाई सम्झिंदा पिडाहरूले यो मन चस्काइ रहन्छ । शीरदेखि पाउसम्म छुट्टै किसिमको तरङ्ग पैदा भइरहन्छ । जुन तरङ्ग भित्र जिन्दगीका अनेक पाटाहरू रुमलिइरहेता पनि म एउटा सामाजिक जिम्मेवारी बोकेको जनप्रतिनिधि भएको नाताले दुःख कष्टहरु सबै छातिभित्र दहन गरेर जिम्मेवारी पूरा गरिरहेको छु । अनेकौँ सुनाईं, देखाई र भोगाइले आर्जेका अनुभवहरू पनि सबै–सबै अस्तु बनेको भौतिक शरीरसँगै सेलाइदो रहेछ–जसरी प्यारी दिदीको अस्तु सेलाईयो !
यस दुःखद घडीमा म भिनाज्यु इन्द्र प्रसाद पुडासैनीलाई पर्न गएको पत्नी बियोगको बज्रपात र भाञ्जाहरु चम्पक पुडासैनि,प्रकाश पुडासैनि र भान्जी राधिका न्यौपानेलाई धैर्य धारण गर्ने क्षमता मिलोस् भनी इश्वरसंग प्रार्थना गर्दै गहिरो समवेदना व्यक्त गर्दछु।स्वर्गिय दिदी मेनुकाप्रति हार्दिक श्रदासुमन!तपाइ जहॅा रहे पनि मेरो मन मुटुमा संधै संधै रहनुहुनेछ र तपाइले लगाइदिएको सप्तरंगि टिकाको संधै मान राख्नेछु।तपाइलाइ ह्दय देखि माया गर्ने यो तपाइको उही अभागी भाइ
–नवराज के.सी.
अध्यक्षः
चम्पादेवी गाउँपालिका