असार १७ गतेबाट आन्तरिक हवाइ उडान सुरु हुने

काठमाडौं । सरकारले आउँदो असार १७ गतेबाट आन्तरिकतर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै हवाई सेवा कम्पनीहरुले तयारी थालेका छन् । निजी क्षेत्रको वायुसेवा काम्पनी बुद्ध एयरले टिकट बिक्री सुरु गरेको छ । सरकारले सुरुमा प्रत्येक कम्पनीलाई ५० प्रतिशत क्षमतामा उडान संचालन गर्न अनुमति दिएको छ ।

थोरै सीट मात्रै हुने भएकाले न्यूनतम भाडादरमै टिकट पाउन मुस्किल हुने कम्पनीले जनाएको छ । सरकारले ५० प्रतिशत क्षमतामा उडान गर्न अनुमति दिएसँगै दैनिक ३१ वटा उडान गर्ने योजना बनाइएको छ ।

यती, श्री, सौर्य लगायतका वायुसेवा कम्पनीहरुले भने सरकारले उडान गन्तव्य तोकिदिए लगत्तै टिकट बुकिङ खुला गर्ने जनाएका छन् । नागरिक उड्डयन प्राधिकरण अनुसार सुरुवाती चरणमा यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले दैनिक क्रमशः १५, सात र तीनवटा उडान गर्न अनुमति पाएका छन् ।