काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिको दावेदार दर्जन हाराहारी

काठमाडौं । नेपाली काँग्रेसमा दोस्रो पुस्ताका तीन प्रभावशाली नेताहरुको भेट, वार्ता र दौडधूपले राजनीतिमा नयाँ तरङ ल्याएको छ । त्यो मेसोमा नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएकाले पनि पार्टीमा नयाँ तरङ छाएको हो ।

उपसभापति निधि निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक भेटवार्ता गरेका थिए । नेतात्रय निधि, कोइराला र सिंहले विभिन्न स्थानमा मिटिङ गरेर कांग्रेसजनमा एकताको सन्देश दिन खोजेका छन् । दोस्रो भेट डा.शशांक कोइराला निवास महाराजगञ्जमा भएको थियो । त्यो भेटमा कांग्रेसको १४औँ महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको हो ।

त्यो भेटले नेतृत्व पुस्तान्तरणमा एकमत भएको सन्देश दिएको हो । कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका उत्तराधिकारीको छलफललाई विरासयतको राजनीतिक रुपमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र प्रदश १ ले गरेको ‘कांग्रेसका वर्तमान चुनौती र १४औँ महाधिवेशन विषयक अन्तरक्रियामा निधिले पार्टीको भविष्य र आगामी निर्वाचनका लागि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पहिलो विकल्प भएको बताउँदै १४ औँ महाधिवेशनमा सभापतिको दाबी गरिरहेका काँग्रेसका उपसभापति विमलेन्द्र निधिले गुटकै आधारमा पार्टीको चुनाव कसैले पनि नजितेको बताएका छन् ।

त्यसमा इतिहासको तथ्य साक्षी छ । गुटका आधारमा मात्रै कसैले पनि चुनाव जितेको छैन,’ निधिले दावी गरेका थिए । १४औं महाधिवेशनको नेतृत्व परिवर्तन मात्रै नभएर आसन्न आमचुनावका लागि वैचारिक, राजनीतिक र नीतिगत रूपमा कांग्रेसलाई तयार गर्नुपर्नेमा निधिले जोड दिएका थिए ।
नेपाली काँग्रेसको १४औं महाधिवेसनमा सभापतिका लागि कम्तिमा १० जना उम्मेदवार प्रष्ट रुपमा देखिइसकेका छन् ।

त्यसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइराला र गगन थापा, सुजाता कोइराला, गोपालमान श्रेष्ठलगायत छन् । अधिकांश सभापतिका उम्मेदवारहरुले सम्पर्क कार्यालय समेत खोली सकेका छन् । यसरी सम्पर्क कार्यालय खोली आफूनिकट विश्वासपात्रहरु मार्फत प्रचारप्रसार थालिसकेका छन् । कतिपयले विभिन्न भेटवार्ता गरिरहेका छन् ।