क्रियायाशील सदस्यता विवाद टुंग्याउन पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बैठक क्रियाशील सदस्यतामा देखिएको विवाद सल्याउन केन्द्रित रहने छ । उक्त बैठक नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने छ । बैठक क्रियाशील सदस्यता विवाद समाधानसँगै पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे बस्न लागेको हो ।

त्यसैगरी पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील सदस्य छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रका क्रियाशील सदस्यता समावेसै भएको छैन भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरिएको छैन ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन । त्यसैगरी बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन ।

छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको थियो । त्यो समय हिजै समाप्त भएको छ । क्रियाशील सदस्यताको काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ र १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने चासो कांग्रेसजनमा देखिन थालेको छ ।