आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

काठमाडौं । असार १५, अर्थात राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन । २०७८ सालको असार १५ गते पनि राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाएर मनाइदैंछ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
राष्ट्रिय धान दिवस २०६२ सालदेखि मनाउँन थालिएको हो । तराई–मधेसमा ७० प्रतिशत भूमिमा धानबाली लगाइन्छ भने पहाडमा २६ प्रतिशत भूमिमा धान लगाइन्छ । कुल मिलाउँदा १४ लाख हेक्टरमा धानबाली लगाउँदा करीब ४७ लाख मेट्रिकटन धान उत्पादन हुने बताइन्छ । धान दिवसको दिन आज कर्णाली प्रदेशले सार्वजनिक विदा दिएको छ ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । कोरोनाको महामारीमा पनि सामाजिक दुरी कायम गरेर असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिने परम्परा यस वर्ष पनि कायम गरिने छ । पहिलैदेखि असार १५ लाई दही च्युरा पर्वको रुपमा लिने गरिएको थियो ।

छिटो मनसुन सुरु भएसँगै यसवर्ष हालसम्म करिब २५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ ।  जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान उत्पादन हुन्छ ।