नागरिक लगानी कोषले एक प्रतिशत थप प्रतिफल

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सहभागीलाई संचित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने भएको छ । यो कार्यक्रम अन्तर्गत करिब साढे चार लाख सहभागी छन् । उनीहरुलाई थप एक प्रतिशतबापत कोषले एक अर्ब ३ करोड रुपैयाँ वितरण गर्ने भएको हो ।

यो कोषमा एक खर्ब ३ अर्ब रुपैयाँ रहेको बताइएको छ । त्यसको एक प्रतिशत एक अर्ब ३ करोड हुन्छ । अहिले यसबाट सहभागीले साढे ६ प्रतिशत ब्याज पाइरहेका छन् । त्यसबाहेक थप एक प्रतिशत पनि पाउन लागेका हुन् । २०७७ असारको खातामा रहेको नगदको आधारमा प्रतिफल दिइन लागिएको कोषले जनाएको छ ।

कोषबाट संचालित अन्य कार्यक्रमहरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल दिइँदै आएको छ । तर, यसमा भने अहिलेसम्म गरिएको थिएन । मानौं कसैको खातामा १० लाख रुपैयाँ रहेछ भने उसले एक प्रतिशत अतिरिक्त अर्थात १० हजार रुपैयाँ थप पाउने छ । जसको खातामा जति बढी रकम हुन्छ उसले उति नै बढी प्रतिफल पाउने छ ।