काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा गरेको छ । बैंकले भर्चुअल कार्यक्रम गरी सो घोषणा गरेको हो । देशका दूरदराजमा बसेर उद्यमशीलता बढाउन र रोगजारी सिर्जजना यो बैंकिङ स्थापना गरिएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघु उद्यम सिर्जना गर्न सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावको बारेमा सचेत रहन दिगो बैंकिङ विभाग स्थापना गरेको विज्ञप्तिमार्फत बताएका छन् ।
उनले नाफामा मात्रै केन्द्रित नभई अधिकतम एकीकृत मूल्यमा केन्द्रित रहेको बताउँदै वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्न खोजेको बताए। ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामको दुई वटा योजना समेत ल्याएको छ।
बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामार्फत ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने जनाइएको छ । बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी)सँग सम्झौतापत्रमा पनि हस्ताक्षर गरेको छ।
बैंकले सम्झौतापछि देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बन्धित व्यक्तिहरूलाई आफ्ना सेवाहरु दिनुपर्नेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सिटिईभिटीका सदस्य सचिवश्री जीव नारायण काफ्लेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।