पत्रकारका संघसंस्थाहरुलाई पत्रकार मञ्चद्वारा स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकारका संघ–संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणका बेला मञ्चले पत्रकारलाई लक्षित गरेर स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

यसै मेसोमा नेपाल पत्रकार मञ्चले शुक्रबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा, दक्षिण एशियाली खेलकुद पत्रकार संघ र कार्टुनिष्ट क्लबलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सतर्कता सामाग्रीहरु वितरण गरेको हो । मञ्चले पत्रकारहरुलाई व्यक्तिगत रुपमा पनि यस्ता सामाग्री वितरण गर्ने गरेको छ ।

सहयोग सामग्री पाइसकेपछि प्रतिक्रिया दिँदै भक्तपुर शाखा अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारी सघाउ पुग्ने बताए । त्यसैगरी खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको भन्दै खुसी व्यक्त गरे ।

महामारीको समय पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या समाधानमा साथ दिन प्रयास गरिएको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जनाए । ‘पत्रकारहरुको भौतिक रक्षाका लागि केही न केही काम हुन थालेका छन् ।

तर, उनीहरुको पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै गर्न बाँकी नै छन्,’ मञ्चका उपाध्यक्ष एवं कोभिड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराई भन्छन् । एशोसियट सदस्य संस्थाहरुबीच पनि साझेदारिता बढाउँदै गएको उनको भनाइ छ ।

भक्तपुर शाखालाई सामग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यलगायत पदाधिकारीको उपस्थिति थियो ।