विमल पन्त, अध्यक्ष हाम्रो टिम नेपाल तथा सामाजिक अभियान्ता
तपार्ईले यो अभियान शुरु गर्नुभएको कति भयो ?
म २०६१ सालदेखि पानीको व्यवसाय गर्दै आएको हुँ । पानी ओसारपसार गर्ने मेरो आफ्नै पिकअप गाडी छ । जब २०७२ सालमा भूकम्प गयो । त्यति बेला काठमाडौंमा पानी वितरण गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा मान्छेहरु अलपत्र परेको दखियो । खासगरी वीर, टिचिङ र पाटन अस्पतालमा त्यही पिकअपमा घाइते, बिरामीहरुलाई राखेर उघद्दर गरेर अस्पताल पु-याउने काम गरियो ।
त्यसपछि देशमा विभिन्न समयमा प्राकृति विपद्हरु आउने रहेछ । त्यतिबेला राज्यले मात्रै सबैलाई सहयोग गर्न सक्दैन । त्यस्तो अवस्थामा राज्यको सहयोगी भूमिका निर्वाह गर्न हाम्रो एउटा टिम बनाऔं भन्ने लाग्यो । त्यसपछि हामीले ‘हाम्रो टिम नेपाल’ नामक संस्था खडा गरेर २०७२ सालबाट राज्यको सहयोगी बनेर निरन्तर सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएका छौं ।
नेपालमा कोरोनाका कारण २०७७ चैत्र ११ बाट लकडाउन भएदेखि दुःखपीडामा परेका खाना दुवाउँदै आउनुभएको छ, त्यो स्रोत कहाँबाट जुटाउनुहुन्छ ?
हाम्रो टिम नेपालमा आत्मनिर्भर युवाहरु आवद्ध हुनुहुन्छ । जो आफ्नो व्यापार व्यवसायबाट आएको पकेट खर्च घटाएर हजार पन्ध्र सय छुट्ट्याएर सामाजिक काममा लगाउछौं । हाम्रो काम देखेर संसारभर छरिएर बसेका आमा, बुबा, दाजुभाइ दिदीबहिनीहरुबाट सहयोग आउँछ । नेपालमै रहेकाहरुबाट सहयोग जुट्ने गर्दछ । यी सबै सहयोग जोडर दुःखीपीडितलाई खाना खुवाउने, आर्थिक सहयोग गर्ने काम गर्दछौं ।
राज्यपक्षबाट विभिन्न बहानामा खेद्ने काम भइरहेको छ कसरी अगाडि बढ्नुहुन्छ ?
हाम्रो अभियानलाई महानगरपालिकाले देख्न गाह्रो मानेको छ । वाधाव्यवधान भयो भन्दैमा हामी अभियान रोक्दैनौं । अझ उत्साहित र सशक्त ढंगले दुःखी, पीडित, असाय, अशक्तहरुको सेवामा लागिरहन्छांै । काम गर्न हिड्ने मान्छे नै लड्ने हो । एकचोटी ठेस लाग्यो भन्दैमा त्यो बाटो हिड्न छोड्नु हुँदैन । अघिल्लो दिन मात्रै हामीले मेलम्ची क्षेत्रको बाढीपहिरोमा अलपत्र परेका पीडितहरुलाई खानाको व्यवस्था गर्न गएका थियौं ।
त्यहाँ झन्डै हजार, ब्राह सय जनालाई खाना खुवाइरहेका थियौं । त्यसैबेला यता महानगरपालिकाले हाम्रा खाना पकाउने, तुल्याउन भाँडाकुडादेखि ओड्ने ओछ्याउने सामान जफत ग-यो । हामीसँग भएका अक्सिजनका सिलिन्डरदेखि खाना पकाउने भाडाँ र ग्यास सिलिन्डर लगेर टहरोसमेत भत्काउने काम काठमाडौं महानगरपालिकाले गरेको छ । यो दुःखलाई शक्तिको रुपमा परिणत गरेर हामी अगाडि बढ्छौं ।
महानगरपालिकाले दमन ग-र्यों भन्दैमा हामीले वर्षौंदेखि गर्दै आएका सामाजिक सेवा छोड्दैनौं । हामीले यो काम छोड्यौं भने धेरै दुःखी, पीडितले खानाबाट बन्चित हुनुपर्छ । हाम्रा सामान जफत भएको दिन ती पीडितलाई दालमोट र चिउरा खुवाएर राख्यौं । अब विस्तारै भाँडा जोडेर खानाको व्यवस्था गर्दछौं ।
तपाईंहरुकोमा दैनिक खाना खाने पीडितहरु ठ्याक्कै कति छन् ?
अहिले हाम्रो ८० देखि १०० प्याकेट खाना ट्रमा सेन्टरमा जान्छ । थापाथलीमा लाइन बसेर खाने १२० देखि १३० जनासम्म हुनुहुन्छ । त्यसमा विभिन्न मनोरोगी, असाहय, गरीव, दुःखी, बेरोजगारी गरेर २५० देखि ३०० जनालाई हामीले नियमित खाना खुवाउँदै आएका छौं ।
ट्रमा सेन्टरमा कुन वर्गलाई खाना उपलब्ध गराउनुहुन्छ ?
ट्रमा सेन्टरमा खासगरी बिरामी कुरुवाहरुलाई खाना खुवाउँछौं । त्यहाँ एक जना बिरामी हुँदा त्यसमा दुई जना कुरुवा हुनुहुन्छ । ती दुई जनाले बिरामीको प्रकृति हेरेर महिनादिनसम्म होटेलमा खाना खाँदा बिरामीलाई औषधि गर्ने पैसा सकिन्छ ।
त्यो खाना खाने पैसा जोगियो भने बिरामीलाई औषधि खान हुन्छ भनेर हामीले बिरामी कुरुवालाई लक्षित गरेर खानाको व्यवस्था गरेका हौं । अर्को लकडाउनको बेला होटल पनि खुलेको हुँदैन । कसैको एक जना कुरुवा हुनुहुन्छ । बिरामी छोडर खाना खान जान मिल्दैन । त्यो देखेर उहाँहरुलाई प्याकेटमा खानाको व्यवस्था गरेका हौं ।
तपाईं सूदुरपश्चिमका बिकट जिल्लातिर पनि जानुभयो, कुन वर्गलाई लक्षित गरेर सहयोग गर्नुभयो ?
म सुदूरपश्चिका जिल्लाहरुमा जाँदा त्यहाँका मान्छेले शरीरमा दशौं ठाउँ टालेको पकडा लगाएका, ५ सय, हजार रुपैयाँ पनि नभएर बच्चाहरुलाई शैक्षिक सामाग्री किन्न नसक्ने वर्गलाई सहयोग गरियो । त्यहाँका बच्चा जो लाउन, खान र शैक्षिक सामाग्री किन्न नसकेर स्कुल छाड्न वाध्यकालाई हामीले सहयोग ग¥यौं ।
यसरी शिक्षाको ज्योतिबाट बञ्चित भएका हुम्ला, जुम्ला, दैलेख र अछाम जस्ता बिकट हिमाली जिल्लाहरुमा हामीले लत्ताकपडा र शैक्षिक सामाग्री सहयोग गरेका छौं । जहाँ बत्ति छैन, त्यहाँ सोलारको व्यवस्था गरेका छौं । जहाँ सडकको सुविधा नभएर बिरामीलाई ढोकामा बोक्न वाध्य हुनुपथ्र्यो । त्यस्तो ठाउँमा स्टेचरहरुको व्यवस्था गरेका छौं ।
त्यसैगरी तराइमा सीत लहर भएको बेलामा हामीले हुनेहरुबाट संकलन गरेर नहुनेलाई सत्ताकपडाको व्यवस्था गरेका छौं । यसरी हाम्रो टिम नेपालले देशका विभिन्न भागमा उद्दार र सहयोग गर्दै आएको छ ।
तपाईं सधैं सामाजिक काममा व्यस्त हुनुहुन्छ आफ्नो रोजीरोटी कसरी चलाउनुहुन्छ ?
मेरो रोजीरोटी चलाउनको लागि पानीको व्यवसाय छ । ढुवानीको लागि आफ्नै गाडी छ । त्यसमा सघाउने चार जना भाइहरु हुनुहुन्छ । योसँगै मेरो एउटा सप्लाइ कम्पनी छ । त्यो कम्पनी २०६२ सालदेखि दर्ता गरेर चलाउँदै आएको छु । त्यसमा सामान ढुवानीको लागि तीनवटा पिकअप छन् । त्यसबाट सामान ढुवानीको काम पनि गर्छु । त्यसैबाट मलाई लाउन, खान मजाले पुगेको छ । यिनै सामान र पेशाबाट मलाई सामाजिक काम गर्न पनि मजाले पुगेको छ ।
तपाईं अनामनगरमा कपडा बैंक पनि खोल्नुभो, ती कपडा कहाँ राख्नुहुन्थ्यो ?
नेपालको इतिहासमै मैले काठमाडौंको अनामनगरमा पहिलो कपडा बैंक खोलेको हुँ । ती कपडाहरु मेरो पानीको गोदाम थियो त्यहीं व्यवस्थापन गर्दथें । कुनै दिन कपडा धेरै हुँदा मैले पानीका जार गाडीमै राखेर पनि व्यवस्थापन गरेको थिएँ ।
ती कपडाहरु हुने दिन्थे, नहुने लान्थे । त्यसरी कलेक्सन भएका कपडाहरु धोएर सफा गरेर गरिवीले लगाउन नपाएका विकटविकट ठाउँमा पानीकै गाडीको सहायताले पु¥याउने काम गरियो । कपडा बैंकमा संकलन भएका बाँकी कपडाहरु पेलेर डसना, सिरकहरु बनाउने गरेका थियौं । त्यसरी निर्मित डसना, सिरक आज पीडितलाई बरदान सावित भएको छ ।
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितको उद्दारका लागि कतिपटक जानुभयो ?
त्यहाँ त हामीले दिनबिराएर रासन पु¥याउनुपथ्र्यो । दिनमा ६, ७ सय जनालाई खाना खुवाउने हाम्रो क्याम्प थियो । हेलम्बुका विकट ठाउँमा सेनाको ठूलो हेलिकप्टरबाट दाल, चामल झार्दा फुट्ने गरेका थिए । त्यसकारण हामीले साना–साना हेलिकप्टरबाट जतनसाथ सामान झार्ने गरेका थियौं । ती हेलिकप्टरहरु प्रभु एयरका थिए ।
प्रभु एयरका मेनेजरले हामीलाई अति सस्तोमा उपलब्ध गराउनुभएको थियो । त्यहाँ सामान लाँदा जर्सिङपौवासम्म ट्रकमा लाने त्यहाँबाट हेलिकप्टरमा लाने काम हुन्थ्यो । त्यसरी हामीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु खण्डका विकट ठाउँमा पाँच टिप हेलिक्पटरबाट सामान उपलब्ध गराएर बाँडेका थियौं । त्यसमा नायिका श्वेता खड्का र हामीले आधा–आधा खर्च व्यहोरेका छौं ।
तपाईंलाई जुनखालको धरपकड भएको छ, त्यसमा वडा अध्यको धारणा के छ ?
यहाँका वडा अध्यक्षले मेरो वडा जहाँ सार्वजनिक ठाउँलाई अस्थायी रुपमा प्रयोग गर्न दिइएको हो । यहाँको नियम, कानुन अनुसार अस्थायी प्रयो गर्न दिएको थियो । सार्वजनिक जग्गा आपत परेको बेला जसले पनि प्रयोग गर्न पाउँछ भन्नुभएको छ । त्यो ठाउँ हामीलाई वडा नं. २९ का वडा अध्यक्षको सल्लाहमा उपलब्ध भएको हो ।
उहाँले आपतका बेला अस्थायी रुपमा प्रयोग गर्न दिनुभएको हो । उहाँसँग परामर्श नगरी हामी जबर्जस्ती बसेका होइनौं । त्यसैले वडा अध्यक्षले कोरोनाको आपतकाबेला दुःखीपीडितले खाना खाने चुल्होसहित टहरो भत्काउनु उचित होइन भन्नुभएको छ । यसरी वडा नं. २९ ले हामीलाई ठूलो सहयोग गरेको छ । तर, अनामगरका केही आफूलाई धनी, बुद्धिमानी र ठूला ठान्ने व्यक्तिहरुले गर्दा आज हामीलाई बिचल्नी बनाइएको छ ।
दुई जना व्यक्तिको कुरा सुनेर काठमाडौं महानगरपालिकाले हामीमाथि अत्याचार गर्दा उहाँहरुका राम्रा काम पनि ओझेलमा पर्ने सम्भावना छ । त्यो ठाउँमा हरियाली पार्क बनाउने रे ? के १०, १२ आना जग्गामा हरियाली पार्क बन्छ ? आजको आवश्यकता भनेको रोग र भोकबाट जनतालाई बँचाउने हो । पुगिसरी आएका धनीमनीले मोजमस्ती गर्ने पार्क, रिसोट होइन । त्यहाँ त क्लब थियो, क्लब भएको ठाउँमा त क्लब नै बनाउने होला नि ।
अब तपाईंका सामान थन्क्याउने ठाउँ छैन हो ?
त्यहाँ भएका सबै सामान थन्क्याउन त एउटै ठूलो हल चाहिन्छ । त्यो हामीले अहिले कहाँ पाउनु । हामी त नेपाल सरकार काठमाडौं महानगरपालिकाको सहयोगी हौं । हामीले महानगरपालिकाको नीति, नियम र सम्वेदनशीलतालाई ख्याल गरेर काम गरेका छौं ।
हामी पनि यो देशका जिम्मेवारी नागरिक हौं । हामीले गरेका नराम्रा काम छन् यो नराम्रो भयो भन्नुप¥यो । होला काम गर्दै जाँदा कहिलेकाही तलमाथि भयो होला । त्यसलाई सच्याउने प्रयास गर्छौं । तर, नियोजित तरिकाले आग्रपूर्वाग्रह राखेर आक्रमण हुनुभएन ।