उदयपुर । अविरल वर्षाका कारण उदयपुरका विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेश्वरी, आम्बासी र भागलपुरमा पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीपीडितको उद्दारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
तपेश्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको भीषण बाढी गाउँबस्तीमा प्रवेश गरेको थियो । अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए । त्यस्तै स्थानीयवासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेश्वरी क्षेत्र डुबानमा परेसँगै जग्गा कटान गर्न थालेको छ ।
स्थानीय खोलाहरुमा आएको बाढी गाउँवस्तीमा प्रवेश गरेपछि त्यहाँका वासिन्दालाई सर्तकता अपनाउन सुझाइएको छ । त्यस्तै बाढीपीडित उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए । निरन्तरको वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ ।
त्यस्तै त्रियुगा नगरपालिका–११, गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाइघाट बजारसमेत डुबानमा पर्ने जोखिम बढेको त्रियुगा नगरपालिका–११, ढिम्कीका शिव कार्कीले बताए । त्यसैगरी उदयपुर चौदण्डी गढी नगरपालिका सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेल्टार मदन चौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा बाढीले बगाएको थियो । बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट प्रहरी र स्थानीयवासीले उनको खोजी कार्य थालेका थिए । खोजीका क्रममा बगाएको स्थानभन्दा दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शवलाई पोष्टमार्डमका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताएका हुन् । रासस