डाक्टर हरुको लापर्वाहीको कारण आजकाल हरेक दिन जस्तो विरामीहरुको ज्यान जोखिममा मात्र पदैन अकालमै ज्यान गुमाउनु पर्छ । महिनामा लगभग ३ देखि ४ जना विरामीको ज्यान डा. को लापर्वाहीबाट जाने गरेको एक तथ्याङ्कले बताएको छ ।
इन्द्रराज्य लक्ष्मी प्रसुति गृह थापाथलीमा डाक्टरको कारणले उदयपुर कटारी माइती भएकी नुवाकोट बिहे गरेकी ३१ बर्षिय तारा खत्री पण्डित नाम गरेकी महिलाको अल्पायुमै ज्यान गएको छ । गर्भवती तारालाई डाक्टरले भाद्र १९ गते को समय दिएपछि तारा भाद्र १८ गते थापाथली प्रसुति गृह पुगेकी थिइन् । १८ गते तारा भर्ना भएपछि १९ गते डाक्टरले अप्रेसन गर्नुपर्छ भनेर उनका अभिभावकलाई बोलाइएको थियो । अभिभावकको स्वीकृत लिएर १९ गते तारा खत्री पण्डितको अप्रेसन गरेर बच्चा निकालियो तर ताराको स्वास्थ्य स्थितिको बारेमा कुनै जानकारी दिइएन । अप्रेसन गरेर छोरा निकालिसके पछि ताराका आफन्तलाई ल बधाई छ तपाइहरुको छोरा जन्मियो भनेर डाक्टरले भनेपछि ताराका आफन्तहरुले अस्पतालमा लड्डु पनि बाँड्न भ्याए ।
अहिले बच्चा जन्मिन सिजरिङ्ग हुनुलाई सामान्य रुपमा लिइन्छ । उनीहरुले पनि यो सामान्य रुपमा लिए । बिरामीका आफन्तले एक पटक बिरामी भेट्न अनुरोध गर्दा बिरामीको राम्रोसँग होस नखुलेको बताउँदै डाक्टरहरुले आफन्तलाई भेट्न दिएका थिएनन् । बच्चालाई भ्यान्टीलेटरमा लगेर राखिदिएका थिए । २० गते आफन्तहरु पटक पटक बिरामीलाई भेट्न खोज्दा बिरामीलाई भेन्टीलेटरमा राखेको र अहिले भेट्न नमिल्ने भन्दै आलटाल गरेर फर्काइदिए । बिरामीको मृत्यु भइसक्दा पनि आफन्तहरुलाई आठ दश हजारको औषधी किनाइरहे अप्रेसन गरेको एकहप्ता पछि आफन्तले आज कुनै हालतमा हाम्रो विरामी हेर्न पाउनुपर्छ भन्दै सँगै अपरेसन गरेका विरामी डिस्चार्ज गरेर घर लगिसके बताउँदा पनि बिरामी भेट्न दिइएन । हाम्रो विरामीको अवस्था के हो किन भेट्न दिईदैन भनेपछि जबरजस्ति सीसीयु कक्षमा पुगेर विरामी हेर्दा विरामीले सास नफेरे जस्तो लागेपछि डाक्टरसँग हाम्रो बिरामीको स्थिति जानकारी भएन भनी कुरा गर्दा डाक्टरले बिरामीको भर्खरै मृत्यु भएको र तारा जिवित नरहेको भनेर जवाफ दिए त्यसपछि अस्पतालको माहोल एकाएक रुवाबासी कोलाहल भयो केही बेरको रुवाबासी पछि सोझा आफन्तहरुले लास बुझे ।
अप्रेसन गर्दा लापर्बाही गरेर मारे भन्ने भएन जब दाहसंस्कारको लागि आर्यघाटमा पुर्याई परम्परा अनुसार अन्तिम दाहसंस्कारका लागि ताराको लासलाई नयाँ कपडा फेरिदिने क्रममा अप्रेसन गरेको घाउ टाँका नमारी खुल्ला रहेको थाहा भयो अनि अनुसन्धान गर्दा त उनी अप्रेसन गरे पछि जीवित नरहेको खुलासा भयो । उनी अप्रेसन गरेकै दिन मरिसकेकी रहिछिन् तर हस्पिटलले अपराध लुकाउन र डा. आफ्नो टाउको जोगाउन सात आठ दिनसम्म पनि औषधि मगाइरहेको रहेछ । हाल ताराको छोरालाई इसान बाल अस्पतालमा राखिएको छ भने ताराको अन्तिम संस्कार भइसकेको छ । अब बबाल गरेर तारा जीवित हुन नसक्ने आफन्तले निष्कर्ष निकाले पछि उक्त लास दाहसंस्कार गरिएको थियो । फेरी पहिले नै डाक्टरहरुले अप्रेसन गर्दा तलमाथि भएमा अस्पताल जिम्मेवारी नहुने भनेर कागज गराई सकेको थियो ।
उपत्यका भित्रका नाम चलेका ठुल ठुला अस्पतालहरुबाट नै अकालमै मानिसको ज्यान लिने क्रम दिनहुँ बढ्दो छ । ओम, मनमोहन, नर्भिक लगायत थापाथली हस्पिटलसम्म आइपुग्दाका कयौं उदाहरणलाई हेर्दा सरकार स्वास्थ्य संस्थामा भएको लापर्बाहीप्रति बेखबर छ भन्दा फरक पर्दैन । अप्रेसन गर्दा लापर्बाही गर्ने र आफु जोगिनका लागि अरुको ज्यान लिँदै सम्पत्ति सहित सिध्याउने डाक्टरहरुलाई कानूनी कठघरामा कस्ले उभ्याउला ?