कानुन निर्माण गर्दा प्रेसमैत्री हुनुपर्ने महासंघको जोड

काठमाडौं । नेपाल पत्रकार महासंघले संघका पूर्व अध्यक्ष तथा कानुन व्यवसायीसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा स्थानीय तहमा निर्मित कानुन सञ्चारमाध्यम र पत्रकारको नियमन सम्बन्धी आधारपत्रमाथि छलफल भएको थियो ।

उक्त छलफलमा महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले संघ, प्रदेश र स्थानीय तहमा सञ्चार सम्बन्धी कानुन बनाउँदा ख्याल गर्नुपर्ने विषय समेटिएको आधारपत्र प्रस्तुत गरेका थिए । उनले स्थानीय तहले सञ्चारसम्बन्धी कानुन बनाउँदा नियन्त्रणमुखी बन्न थालेकाले सुझावका लागि महासंघको नीति अनुसार उक्त आधारपत्र बनाइएको बताए ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रत सम्बन्धी विश्वव्यापी मूल्य मान्यताका आधारमा कानुन बनुन् भन्ने हेतुले महासंघले सुझावका लागि उक्त मस्यौदा बनाउन लागेको बताउनुभयो । उहाँले यो आधारपत्र सञ्चार मैत्री कानुन निर्माण गर्न सहयोगी हुने समेत प्रस्ट्याए ।  महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले सञ्चार सम्बन्धी धेरै कानून रहेकाले स्थानीय तहले आवश्यकताका अधारमा मात्र कानुन निर्माण गर्नुपर्ने सुझाए ।

त्यसैगरी पूर्व अध्यक्ष शिव गाँउलेले सरकारको आलोचना गरेकै आधारमा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ढंगले कानुन निर्माण गर्न नहुने धारणा व्यक्त गरे । महासंघकी सल्लाहकार निर्मला शर्माले प्रदेश र स्थानीय तहले आपूmअनुकूुल कानुन निर्माण गरिरहेको भन्दै प्रेस मैत्री कानुन निर्माण गर्न सुझाइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले विभिन्न तहका कानुनले सञ्चार क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । त्यस्तै महासंघका महासचिव रोसन पुरीले जुनसुकै तहका कानुन सञ्चामैत्री हुनुपर्नेमा जोड दिए । उनले त्यसैका लागि महासंघले सञ्चार नीतिको ड्राफ्ट तयार गरेको जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता भक्तिराम घिमिरे, लोकेन्द्र ओली, नेपाल गाउँपालिका महासंघका कार्यवाहक निर्देशक राजेन्द्र प्याकुरेल, नेपाल नगरपालिका संघकी कानुन अधिकृत सरिता सापकोटा लगायतले सो मस्यौदामा सुझाव दिएका थिए।