बीपी स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन जारी : सरकारी उदासिनताप्रति कांग्रेसको असन्तुष्टी

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा तीनसातादेखि विभिन्न माग राखी आन्दोलन चलिरहेको छ । उक्त आन्दोलनप्रति कुलपति प्रधानमन्त्री केपी ओली मौन रहेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । विभिन्न माग राखी चिकित्सक, विद्यार्थी र कर्मचारीले आन्दोलन गरेका महिना दिन पुगिसकेको छ ।

यतिलामो समय आन्दोलन हुँदा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले यस बिषयलाई गम्भीरतापूर्वक नलिएकाले कांग्रेसले असन्तुष्टी जनाएको हो । यो आन्दोलनको विषयलाई लिएर नेपाली कांग्रेस सार्वजनिक गम्भीर चिन्ता प्रकट गरेको छ । कांग्रेसले संवादबाट यसको समाधान अविलम्ब गर्न अपील पनि गरेको छ । ‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौं बिषय पर्दछन् र छन् भन्ने कसैको दुइमत छैन । तर, त्यसो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो ।

कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व चलिरहनु उपयुक्त होइन ।  त्यसले समग्र प्रतिष्ठान र सर्वसधारण नागरिकमा समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएको भन्दै ढाकछोप नगरी त्यसको आवश्यक उपचार गर्न र आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण सिर्जना गर्न प्रधानमन्त्रीसँग माग समेत गरेको छ ।