तराई मधेशका जनताले काँग्रेसलाई नै चुन्ने : प्रम देउवा

भदौ २९ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने बताएका छन् ।

बुधबार महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै चुन्ने दावी गरेका छन् । प्रधानमन्त्री देउवाले तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको खुलासा गरे । देउवाले तराईलाई हुलाकी राजमार्गले समृद्ध बनाउने विश्वास व्यक्त गरे । भारत र नेपालको सम्बन्ध बलियो रहेको स्पष्ट पार्दै उनले सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने बताएका छन् । उनले एमालेको राष्ट्रवादले देश खतरामा फसेको र मिलेर बसेका नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोप लगाएका छन् ।

काँग्रेसका महामन्त्री शशांक कोइरालाले मधेशीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताएका छन् । संविधान संशोधन गरेर मधेशको माग पूरागर्ने उनको दावी छ । त्यस्तै, काँग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेशमा पराजित हुने दाबी गरे ।

काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले काँगे्रस जबजब हार्यो तब तब देशले हारेको भनी उल्लेख गरे । त्यसैले काँग्रेस जिताउनु भनेको देशलाई नै जिताउनु भन्ने उनको भनाई छ । नेता रामशरण महतले सिके राउत, जयकृष्ण गोइत र केपी ओली प्रवृत्तिले राष्ट्रियता खतरामा परेको औँल्याए । काँग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमालेले प्रजातन्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाए ।

काँग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिलेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गरेका छन् । संविधानमा लेखेको कुरालाई काँग्रेसले मात्र पुरा गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।