एमालेमा १० बुँदे सहमतिप्रति : बरिष्ठ नेता माधव नेपालद्वारा असन्तुष्टि प्रकट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको आन्तरिक विवाद समाधान कार्यदलले पार्टी एकताको लागि १० बुँदे सहमित गरेको छ । सिंहदरबारमा बसेको बैठकले १४ घण्टा लामो छलफल र बहसपछि पार्टी एकताको लागि सहमति गरेको हो । सो बैठक सकिएपछि एमाले उपाध्यक्ष भीम रावलले १० बुदे सहमति भएको जानकारी पत्रकार समक्ष गराएका थिए ।

सो जानकारी गराउने क्रममा रावलले ऐतिहासिक निर्णय भएको बताएका थिए । त्यसपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति पत्र वाचन गरेका थिए । ज्ञवालीका अनुसार पार्टीभित्रको विवाद आन्तरिक विधि र पद्धती अनुसार हल गरिने छ । बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम रहने लगायतका सहमति गरेको छ ।

पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको प्रवक्ता ज्ञवालीले बताए, उनले सबै जनवर्गीय संगठनहरु अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने जानकारी दिए । तर, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति जनाएका छन् । अदालतलाई प्रभाव पार्ने गरी सहमतिको प्रचार गरिएको भन्दै नेपालले त्यसमा असहमति जनाएका हुन् ।

नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास भइरहेका बेला वरिष्ठ नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताएका छन् । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।