काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैंक आज बस्दै छ । बिहीबार बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक आज शुक्रबार बस्ने भएको हो । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताको कारण हिजा बस्ने भनिएको बैठक स्थगित गरिएको हो । पार्टीको १४औैं महाधिवेशन र समसामयिक राजनीतिमा विषयमा छलफल गर्नका लागि आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ ।
आज बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच व्यापक छलफल गर्ने तयारी छ । काँग्रेसले १३औँ महाधिवेशनमा ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्यता रहेकोमा आसन्न १४औँ महाधिवेशनसम्म सो संख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको थियो ।
१३औं महाधिवेशनमा नेपाली काँग्रेसको विधान अनुसार क्षेत्रीय सभापतिसहित १२ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए । १४औं महाधिवेशनमा सत प्रतिशत बृद्धि गरी क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि बनाइएको छ । १३औं महाधिवेशनमा २ हजार ८८० जना महाधिवेशन प्रतिनिधि, भ्रातृ एवं शुुभेच्छुक १८ संस्थाका ९८ प्रतिनिधि, विदेश स्थित १७ जनसम्पर्क समितिका १२६ र निवर्तमान केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य ८४ जना गरी ३ हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागि थिए ।
२०७२, माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशनसँगै काँग्रेसको महाधिवेशन प्रकृया शुरु भएको थियो । नेपाली काँग्रेसको १३औं महाधिवेशन २०७२, फागुुन २० गतेबाट शुरु भएको थियो । नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८, भदौ १६ गतेबाट शुरु हुने निर्धारित कार्यक्रम रहेको छ ।
यता, क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरिएको छ ।
तर अहिले पार्टीको वेबसाइट भने खुल्दैन अर्थात् बन्द गरिएको छ । क्रियाशिल सदस्यको इन्ट्रि भएपछि खुल्ने अपेक्षा गरिएको छ । पार्टीको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क २ रुपैयाँ छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क ३ सय रुपैयाँ बनाइएको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउनभित्रै अधिवेसन गरिसक्न केन्द्रीय समितिले निर्देशन दिएको छ । केन्द्रीय अधिवेशन भने भदौ १६ गतेदेखि १९ गतेसम्म हुने भनिएको छ ।